
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले हालै देशभर भइरहेका आन्दोलन, प्रदर्शन र हिंसात्मक घटनाबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण र घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
महासंघले शुक्रबार जारी गरेको विज्ञप्तिमा युवा पुस्ताले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी र राजश्वको सदुपयोगजस्ता मागहरूलाई सकारात्मक रूपमा लिँदै तिनको विवेकपूर्ण कार्यान्वयनबाट मुलुक समृद्धिको बाटोमा अघि बढ्न सक्ने अपेक्षा व्यक्त गरेको छ।
विज्ञप्तिमा पछिल्ला दिनमा व्यवसायी, उद्योगी तथा निजी सम्पत्तिमाथि भएको तोडफोड, आगजनी र आक्रमणप्रति कडा आपत्ति जनाइएको छ। यसरी भएको क्षतिले अर्बौं रुपैयाँ बराबरको नोक्सानी भएको प्रारम्भिक आकलन गरिएको र यसले कुल गार्हस्थ्य उत्पादन (GDP) र राजस्व संकलनमा प्रत्यक्ष असर पार्ने महासंघले जनाएको छ।
महासंघले निजी क्षेत्रलाई निर्वाधरूपमा सञ्चालन हुन नदिए अर्थतन्त्र थप संकटमा जाने चेतावनी दिंदै, व्यवसायीलाई सुरक्षित वातावरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ। साथै निषेधाज्ञा तथा कर्फ्युकै बेला पनि औषधि, खाद्यान्न, दूध, तरकारी, इन्धनजस्ता अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन आग्रह गरिएको छ।
भन्सार नाकाहरू बन्द हुँदा अत्यावश्यक वस्तुको आयात–निर्यात अवरुद्ध भएको उल्लेख गर्दै महासंघले सुरक्षा व्यवस्था बलियो बनाई नाकाहरू तत्काल सञ्चालनमा ल्याउन माग गरेको छ।
महासंघका अनुसार, निजी क्षेत्रले नेपालको अर्थतन्त्रमा ८१ प्रतिशत, राजस्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्याउँदै आएको छ। त्यसैले स्थायित्व र समृद्धिका लागि युवाको आवाजलाई सम्बोधन गर्दै लगानीमैत्री वातावरण बनाउनुपर्नेमा महासंघले जोड दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे