
काठमाडौँ । देशभरका निर्माण व्यवसायीहरूको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघको १३औं महाधिवेशनबाट निकोलस पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । निर्वाचन समितिद्वारा सार्वजनिक परिणामअनुसार पाण्डेले ५१४ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी आङ दोर्जी लामाले ४१३ मत प्राप्त गरेका छन् ।
महासंघको वरिष्ठ उपाध्यक्ष पदमा रामजी पन्त ४७४ मतसहित निर्वाचित भएका छन् । त्यसैगरी महासचिव पदमा शिवहरि घिमिरे ५२७ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी बलिभद्र रानाले ३८० मत प्राप्त गरेका छन् । अन्य पदहरूमा पनि विभिन्न उम्मेदवारबीच प्रतिस्पर्धापछि नयाँ पदाधिकारी चयन भएका छन् ।
निर्वाचनमा विभिन्न समूहबीच प्रतिस्पर्धा देखिएको थियो । एक समूहले सार्वजनिक खरिद ऐन संशोधनलाई मुख्य एजेन्डा बनाएको थियो भने अर्को समूहले निर्माण व्यवसायीका समस्यामा सरकारसँग प्रभावकारी संवाद गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।
नवनिर्वाचित अध्यक्ष पाण्डेले निर्माण व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारसँग सक्रिय संवाद गर्ने तथा सार्वजनिक खरिद ऐनका केही प्रावधान संशोधन वा खारेजका लागि पहल गर्ने बताएका छन् । उनी पूर्वमन्त्री तथा पूर्वसांसद विक्रम पाण्डेका पुत्र तथा निर्माण क्षेत्रसँग सम्बद्ध व्यवसायिक पृष्ठभूमिका व्यक्ति हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे