
काठमाडौँ । नेपाल बैंक लिमिटेडले नागरिकहरूको आफ्नै घर बनाउने सपना पुरा गर्न विभिन्न प्रकारका आवास ऋण योजना सार्वजनिक गरेको छ। बैंकले सीमित आम्दानी भएका व्यक्तिहरूका लागि सहज ब्याजदर र लचिलो सुविधासहित ऋण सेवा प्रदान गर्ने उद्देश्य राखेको जनाएको छ। बैंकले घर निर्माण, विस्तार, मर्मत तथा घर र जग्गा खरीदका लागि ‘सामान्य गृह ऋण’, ‘नेपा लक्ष्मी होम लोन’, ‘प्रोफेसनल होम लोन’ र ‘सुलभ आवास कर्जा’ योजना ल्याएको जनाएको छ।
सामान्य गृह ऋणअन्तर्गत न्यूनतम रु. ५ लाखदेखि ऋण प्रदान गरिने र अधिकतम २० वर्षसम्म भुक्तानी अवधि तोकिएको छ भने नेपा लक्ष्मी होम लोनमा १५ वर्षसम्मको अवधि र सम्पत्तिको बजार मूल्यको ७० प्रतिशतसम्म ऋण उपलब्ध गराइनेछ। प्रोफेसनल होम लोन योजना अन्तर्गत घर निर्माण तथा खरीदका लागि न्यूनतम रु. ४ लाखदेखि ऋण उपलब्ध हुने र अधिकतम २० वर्षसम्म भुक्तानी अवधि रहने जनाएको छ। सुलभ आवास कर्जामा भने घर निर्माणका लागि लागतको १०० प्रतिशतसम्म र घर खरीदका लागि अनुमानित मूल्यको ७० प्रतिशतसम्म ऋण दिइने व्यवस्था गरिएको छ। बैंकले अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको घर ऋणलाई नेपाल बैंकमा स्थानान्तरण (स्वैप) गर्न सकिने सुविधा पनि उपलब्ध गराएको छ।
ऋण लिन नेपाली नागरिक हुनुका साथै ऋण प्रक्रिया सुरु गर्दा न्यूनतम १८ वर्ष उमेर पूरा भइसकेको, जागिरे वा स्वरोजगार व्यवसायी हुनु पर्ने र प्रस्तावित जग्गा वा भवनसम्म कम्तीमा ८ फिट चौडाइको सवारीसाधन सञ्चालन गर्न सकिने बाटो हुनु पर्ने शर्त बैंकले तोकेको छ। ऋण आवेदनका लागि व्यक्तिगत तथा धितोसम्बन्धी कागजात, आयसम्बन्धी प्रमाणपत्र, बैंक स्टेटमेन्ट, व्यवसायिक आय भएमा कम्पनी दर्ता प्रमाणपत्र र करसम्बन्धी कागजात पेश गर्नु पर्ने व्यवस्था गरिएको छ भने ५० लाख रुपैयाँ वा सोभन्दा बढी ऋणका लागि प्यान नम्बर अनिवार्य गरिएको बैंकले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे