
काठमाडौं ।नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा ऐतिहासिक वित्तीय सुधार गर्दै २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरिसकेको छ। यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ हजार ३२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा बैंकले मात्र १३ करोड रुपैयाँ नाफा कमाएको थियो।
बैंकको मुनाफामा देखिएको यस उल्लेखनीय वृद्धिको मुख्य कारण इम्पेयरमेन्ट चार्जमा आएको तीव्र गिरावट मानिएको छ। अघिल्लो वर्ष ३ अर्ब ६६ करोड रुपैयाँ रहेको यो खर्च चालु वर्षको सोही अवधिमा घटेर २८ करोड २८ लाख रुपैयाँमा सीमित भएको छ। यसले बैंकको कुल आम्दानीमा प्रत्यक्ष सकारात्मक असर पुर्याएको विश्लेषण गरिएको छ।
साथै, बैंकको खुद ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष ६ अर्ब ७७ करोड रुपैयाँको तुलनामा चालु वर्षको तेस्रो त्रैमाससम्ममा यो ७ अर्ब १० करोड रुपैयाँ पुगेको छ। ब्याज आम्दानीमा आएको वृद्धिले पनि नाफा वृद्धिमा थप टेवा पुर्याएको छ।
नेपाल बैंकको हालको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष २३ अर्ब ३१ करोड ३४ लाख रुपैयाँमा रहेको छ। यस्तै, बैंकको प्रतिसेयर आम्दानी (EPS) २५.२६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २६०.७४ रुपैयाँ पुगेको छ।
बैंकले ३० करोड ६२ लाख रुपैयाँ बराबरको लाभांश वितरण क्षमता बनाइसकेको छ। यस आधारमा बैंकले हाल २.७८ प्रतिशत लाभांश वितरण गर्नसक्ने स्थिति बनाएको देखिन्छ।
विगत केही त्रैमासको तुलनामा यो त्रैमासमा देखिएको वित्तीय सुधारले लगानीकर्ताको भरोसा पुनः कायम गराउने संकेत देखिएको छ। बैंकले सञ्चालन लागत नियन्त्रण, कर्जाको गुणस्तर सुधार तथा आन्तरिक व्यवस्थापन सुधारमार्फत आगामी दिनमा अझ सशक्त वित्तीय स्थिति देखाउने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे