
काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले यो अवधिमा ५८ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.३१ प्रतिशतले कम हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले ६० करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकले समीक्षा अवधिमा खुद ब्याज आम्दानीमा उल्लेखनीय वृद्धि गरेको छ। खुद ब्याज आम्दानी १६.३८ प्रतिशतले बढेको छ भने खुद फी तथा कमिसन आम्दानी भने १८.२३ प्रतिशतले घटेको विवरणमा उल्लेख छ। यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १२.७५ प्रतिशतले र सञ्चालन मुनाफा ३२.८१ प्रतिशतले बढेको छ। तर, चालू कर खर्चमा वृद्धि भएको कारण खुद नाफा घटेको बैंकको विश्लेषण छ।
अर्थात्, सञ्चालन मुनाफा सुधार भए पनि कर भार बढेकाले अन्तिम खुद नाफामा नकारात्मक प्रभाव परेको हो। यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ऋणात्मक रहेको छ, जसको परिमाण ५७ करोड १ लाख रुपैयाँ रहेको छ।
नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। पहिलो त्रैमासमा बैंकको ३८ पैसा घटेर १६ रुपैयाँ १ पैसामा सीमित भएको छ। असोज मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ ३२ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात (P/E Ratio) १५.०५ गुणा रहेको विवरणमा उल्लेख छ।
हाल नेपाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा २३ अर्ब ५५ करोड रुपैयाँ सञ्चित छ। बैंकले असोज मसान्तसम्म ३ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको अनुसार, कर्जा प्रवाह विस्तारसहित ब्याज आम्दानी बढे पनि कर व्यय र फी आम्दानी घट्नाले नाफामा अपेक्षित सुधार हुन नसकेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे