
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय नेपालमा निजी क्षेत्रलाई प्राथमिकतामा राख्ने सकारात्मक प्रवृत्ति देखा पर्न थालेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित ‘पर्वत विकासको सम्भावना र अवसरहरुको पहिचान’ विषयक विमर्श कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले विगतमा नाफामूलक र व्यवसायिक गतिविधिलाई मात्र प्राथमिकता दिने सरकारी नीति रहेको स्मरण गराउँदै अहिले भने त्यसमा क्रमिक सुधार हुँदै गएको बताए। उनका अनुसार, निजी क्षेत्रलाई अघिल्लो पुस्ताका नीतिगत संरचनामा खासै ध्यान दिइएको थिएन, तर हाल आएर नीति निर्माण तहमा पनि निजी क्षेत्रप्रति सहानुभूति र समझदारी बढिरहेको छ।
ढकालले निजी क्षेत्र र सरकारबीच सहकार्य हुन सके रोजगारी सिर्जनाको ठूलो सम्भावना रहेको उल्लेख गरे। उनले भने, “निजी क्षेत्रले सरकारलाई सहयोग गर्न पाए हजारौं नागरिकलाई तुरुन्तै रोजगारी उपलब्ध गराउन सकिन्छ। तर, जबसम्म आम नागरिकको चासो निजी क्षेत्रप्रति सकारात्मक हुँदैन, रोजगारी सिर्जना र पूर्वाधार विकासको प्रक्रिया सहज हुँदैन।”
उनले थप भने, “नाफामुखी सोचबाट बाहिर निस्केर अब सरकार र निजी क्षेत्रले मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता छ। रोजगारी सिर्जना गर्न र मुलुकको समग्र आर्थिक विकासमा टेवा पुर्याउन निजी क्षेत्रलाई प्राथमिकतामा राख्नु आजको आवश्यकता हो।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे