
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत विद्युत् लिने उपभोक्ताहरूलाई बक्यौता विद्युत् महसुल २१ दिनभित्र अनिवार्य रूपमा भुक्तानी गर्न आग्रह गरेको छ ।
आइतबार जारी सूचनामा प्राधिकरणले यसअघि पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण काम कारबाही खारेज गरिएको जानकारी दिएको छ । प्राधिकरणका अनुसार विद्युत् महसुल तिर्न आनाकानी गर्ने उपभोक्ताहरूलाई कडाइका साथ कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।
सूचनामा भनिएको छ, “बक्यौता महसुल २१ दिनभित्र भुक्तानी नगर्ने उपभोक्तामाथि विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ बमोजिम कानुनी कारबाही गरिनेछ ।”
त्यसैगरी, मासिक किस्ताबन्दीमा रकम तिर्न चाहने उपभोक्तालाई बढीमा २८ महिनासम्म किस्ताबन्दीमा सुविधा दिइने प्राधिकरणले जनाएको छ । यसले उपभोक्तालाई सहज ढंगले बक्यौता चुक्ता गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ ।
प्राधिकरणले विद्युत् आपूर्ति निरन्तरता र सेवा सुचारु राख्न समयमै महसुल तिर्न सबै उपभोक्तालाई आग्रह गर्दै चेतावनीसमेत दिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे