
काठमाडौं। एनसेल आजियाटा लिमिटेडले आगामी नोभेम्बर ११ (मंगलबार) का दिन विशेष डिजिटल अफर अन्तर्गत ‘११:११ एनसेल एप क्याम्पेन’ सञ्चालनमा ल्याउने घोषणा गरेको छ। उक्त अभियानमा सहभागी प्रिपेड ग्राहकहरूले एनसेल एपमार्फत रु. २०० वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने अवसरमा आकर्षक पुरस्कार पाउनेछन्।
एनसेलले जनाएको अनुसार, सहभागी ग्राहकहरूमध्ये ११ जना भाग्यशाली ग्राहकले ११ जीबी डेटा निःशुल्क प्राप्त गर्नेछन्, जसको प्रयोग अवधि ११ दिन हुनेछ। कम्पनीका अनुसार यो अफरको उद्देश्य ग्राहकहरूलाई डेटा सेवामार्फत पुरस्कृत गर्नुका साथै विश्वव्यापी ११:११ सेल उत्सवसँग मेल खाने रमाइलो अनुभव प्रदान गर्नु हो।
एनसेल एपलाई ‘वन–स्टप सेल्फ–केयर प्लेटफर्म’ का रूपमा चिनिन्छ, जसमार्फत ग्राहकहरूले भ्वाइस र डेटा प्याक खरिद गर्न, अनलाइन रिचार्ज गर्न, मासिक बिल हेर्न, बाँकी सेवा विवरण जाँच्न, साथै रोमिङ सेवा सक्रिय/निष्क्रिय गर्न सक्छन्। साथै, एपबाट गिफ्टको रूपमा अन्य प्रयोगकर्तालाई विभिन्न प्याकहरू पठाउने सुविधा पनि उपलब्ध छ।
त्यसका साथै एपमा अनलाइन र अफलाइन गेम खेल्ने, समाचार तथा सूचना हेर्ने जस्ता रोचक सुविधाहरू पनि समावेश गरिएको छ। प्रयोगकर्ताहरूले गुगल प्लेस्टोर वा एप स्टोरबाट सहजै एनसेल एप डाउनलोड गरी यी सबै सुविधाको लाभ लिन सक्नेछन्।
एनसेलका अनुसार, ११:११ अफरले ग्राहकमा डिजिटल सेवा प्रयोग गर्ने आकर्षण बढाउनेछ र नेपालमा डिजिटल इनगेजमेन्ट प्रवर्द्धन गर्ने नयाँ प्रयास हो।
११:११ अफर चीनमा सुरु भएको विश्वकै सबैभन्दा ठूलो अनलाइन किनमेल उत्सव हो, जसले अहिले विश्वव्यापी ट्रेन्डको रूप लिएको छ। यस अवधिमा फ्ल्यास डिल, काउन्टडाउन अफर, र सीमित समयका छुट मार्फत उपभोक्ताहरूमा उत्साह जगाइन्छ। एनसेलले यही ट्रेन्डसँग सँगै हिँदै नेपालका ग्राहकका लागि डिजिटल उपहारको रूपमा यो अफर ल्याएको जनाएको छ।
एनसेलले डिजिटल युगसँग कदम मिलाउँदै ग्राहकको सुविधा र सन्तुष्टिलाई प्राथमिकता दिँदै भविष्यमा पनि यस्तै नवप्रवर्तनशील सेवा र अफरहरू निरन्तर ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे