
काठमाडौं। मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको एनसेल फाउन्डेसनले व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलमा हानिने प्रत्येक चौकाबापत ग्रामीण तथा दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई ४ थान शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ।
गत वर्ष एनपीएलसँगको सहकार्यबाट २,६१२ विद्यार्थी लाभान्वित भएकाले फाउन्डेसनले यस वर्ष पनि सो कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ। एनपीएल सिजन १ मा ६५३ चौका प्रहार भएका थिए, जसका आधारमा हजारौँ विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराइएको थियो। यो कार्यक्रममार्फत एनसेलले हालसम्म देशभर ९,००० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिसकेको छ।
शिक्षा प्रवर्द्धन र ग्रामीण विद्यालयका विद्यार्थीमा पढाइप्रतिको पहुँच बढाउने उद्देश्यसहित सञ्चालित ‘क्रिकेटदेखि कक्षाकोठासम्म’ अभियानले विद्यार्थीको पठन–पाठनमा उल्लेख्य सुधार ल्याउने विश्वास एनसेल फाउन्डेसनले व्यक्त गरेको छ।
विद्यार्थीलाई प्रदान गरिने सामाग्रीमा स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायत आवश्यक स्टेसनरी समावेश रहने एनसेलले जनाएको छ। यसले शिक्षण–अधिगम प्रक्रियामा स्रोत अभाव घटाउने र विद्यालय जीवनलाई सहज बनाउने अपेक्षा गरिएको छ।
‘क्रिकेटले हामी सबैलाई जोडेको छ। एनपीएलसँगको सहकार्यमार्फत सामुदायिक विद्यालयका विद्यार्थीको उज्यालो भविष्यका लागि काम गर्न पाउँदा खुशी छौँ,’ एनसेल कर्पोरेट कम्युनिकेसन तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन्। उनका अनुसार खेलमा प्रहार हुने प्रत्येक चौका विद्यार्थीको सिकाइ अवसर, विकास र भविष्यसँग प्रत्यक्ष जोडिनेछ।
फाउन्डेसनले प्रदान गर्ने शैक्षिक सामग्री नेपाल क्रिकेट संघ (क्यान), स्थानीय तह तथा कार्यान्वयन साझेदारहरूको सहकार्यमा विद्यालयसम्म पुर्याइने एनसेलले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे