
काठमाडौँ । आज आइतबार राष्ट्रिय सभाका १९ जना सदस्य छान्न मतदान हुँदै छ। आगामी फागुन २० गते वर्तमान सदस्यहरूको कार्यकाल सकिन लागेकाले माघ ११ गते नयाँ सदस्यका लागि निर्वाचन हुन लागेको हो।
निर्वाचन आयोगका अनुसार मतदानको सबै तयारी पूरा भइसकेको छ। सातै प्रदेशको राजधानी रहेका जिल्लामा तोकिएका मतदान केन्द्रमा बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ। यस निर्वाचनमा राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित १९ जनाको पद रिक्त हुँदै छ।
प्रदेशअनुसार मतदान केन्द्र तोकिएको छ। कोशीमा विराटनगर, मधेशमा जनकपुर, बागमतीमा हेटौँडा, गण्डकीमा पोखरा, लुम्बिनीमा घोराही, कर्णालीमा वीरेन्द्रनगर र सुदूरपश्चिममा धनगढीमा मतदान हुनेछ। मतदान गर्न मतदाता परिचयपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र वा निर्वाचित प्रमाणपत्रमध्ये कुनै एक देखाउनुपर्नेछ। यस निर्वाचनमा कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, लोसपा, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी सहभागी छन्।
देशभर कुल २०३८ मतदाता छन्। यसपटक मधेश प्रदेशबाट सबैभन्दा धेरै चार जना सदस्य निर्वाचित हुने छन्। अन्य प्रदेशबाट समूहअनुसार दुई वा तीन जना सदस्य छानिने छन्। एक जना सदस्य भने राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ।
राष्ट्रिय सभाका सदस्यको कार्यकाल छ वर्षको हुन्छ र प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्य परिवर्तन हुने संवैधानिक व्यवस्था छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे