
काठमाडौं । आज सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्ने भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान सवा ११ बजे शुरु हुनेछ। बैठकको कार्यसूचीमा खानेपानी मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने तयारी छ, जसमा सम्बन्धित मन्त्रीले जवाफ दिनेछन्।
यसैगरी, राष्ट्रियसभा सदस्य मदनकुमारी शाहले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने छन्। राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी नेपाल ऐनमा सुधार गर्ने विधेयक, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’, र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष प्रस्तुत गर्नेछन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनमा संशोधन गर्ने विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनमा संशोधन गर्ने विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे