
काठमाडौं। राष्ट्रिय सभाका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा दिउँसो १२ः४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसिसकेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार आज बिहान ९ः०० बजेदेखि सुरु भएको मतदान अपराह्न ३ः०० बजेसम्म चल्नेछ। यस निर्वाचनमार्फत आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १७ पद पूर्ति गरिनेछ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म कोसी प्रदेशमा ३१३, मधेस प्रदेशमा २२७, बागमती प्रदेशमा २१७, गण्डकी प्रदेशमा १८०, लुम्बिनी प्रदेशमा १६३, कर्णाली प्रदेशमा १४५ र सुदूरपश्चिम प्रदेशमा १८६ मत खसेका छन्। कोसी प्रदेशमा खस–आर्यतर्फको एक पदमा भने उम्मेदवार निर्विरोध निर्वाचित भइसकेकाले बाँकी १७ पदका लागि मात्र मतदान भइरहेको छ।
कोसी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडालगायत सातै प्रदेशका तोकिएका मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको आयोगले जनाएको छ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष मतदाता रहने व्यवस्था छ। आयोगका अनुसार कुल २ हजार ५६ मतदातामध्ये विभिन्न कारणले हाल २ हजार ११ जना मतदाता कायम छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे