
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक उम्मेदवार टासी ल्हाजोमले आफूमाथि लगाइएका आरोपहरूको प्रमाण देखाउन खुला चुनौती दिएकी छन्।
बुधबार रास्वपाले समानुपातिक सूचीबाट टासीको नाम हटाएको खबर सार्वजनिक भएको थियो। उनी आदिवासी जनजाति समूहबाट समानुपातिक सूचीमा समावेश थिइन्। यस विषयमा प्रतिक्रिया दिँदै टासीले आफूले नाम फिर्ता नलिएको र फिर्ता लिने प्रक्रियामा पनि संलग्न नरहेको स्पष्ट पारेकी छन्।
सामाजिक सञ्जालमा लेख्दै उनले आफू तिब्बती नागरिक नभएको दाबी गरेकी छन्। साथै, ‘फ्रि तिब्बत’ अभियानसँग कुनै पनि किसिमको सम्बन्ध नरहेको र आफ्ना प्रेमी पनि तिब्बती नभएको बताएकी छन्। आफूविरुद्ध फैलाइएका सबै आरोपहरू निराधार भएको उनको भनाइ छ।
टासीले आफू तिब्बतसँग जोडिएको कुनै प्रमाण भए सार्वजनिक गर्न सबैलाई चुनौती दिएकी छन्। “यदि म वा मेरा कुनै गतिविधि तिब्बतसँग सम्बन्धित भएको प्रमाण छ भने देखाउनुस्,” उनले लेखेकी छन्।
उनले आफू सार्वभौम देश नेपालको नागरिक भएको भन्दै संविधानले दिएको अधिकारअनुसार समानुपातिक वा प्रत्यक्ष चुनाव लड्न पाउने बताइन्। साथै, आफ्ना संवैधानिक अधिकार हनन भए कानुनी बाटो अपनाउने चेतावनी पनि दिएकी छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे