
काठमाडौँ — नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजना अन्तर्गत त्रिभुवन राजमार्गको नौबिसे–काठमाडौँ खण्डमा पर्ने सिस्नेखोला देखि चन्द्रागिरी नगरपालिका वडा नं. ३ सम्म २ हजार ६६८ मिटर लामो सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ। यस आयोजनासँगै पश्चिमतर्फ ५६५ मिटर र पूर्वतर्फ २ हजार ३०७ मिटर पहुँच सडक निर्माण गर्ने लक्ष्य लिइएको थियो। सवारी चाप न्यूनीकरण तथा सडक यातायातलाई सहज बनाउने उद्देश्यसहित आयोजना सञ्चालन गरिएको हो।
जापान सरकारसँग २०१६ मा ऋण सम्झौता गरी २०१९ मा विदेशी निर्माण कम्पनीसँग ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो। आर्थिक वर्ष २०८०/८१ सम्ममा रु. १२ अर्बभन्दा बढी रकम भुक्तानी भइसकेको थियो। सो अवधिसम्म सुरुङ तथा उद्धार सुरुङ खन्ने कार्य सम्पन्न भई करिब ८४ प्रतिशत भौतिक प्रगति हासिल भएको विवरण आयोजनाले दिएको छ।
यद्यपि, आयोजनाअन्तर्गत रोड साइड सेवा केन्द्र, पहुँच सडक तथा फ्लाइओभर निर्माणका केही काम अझै बाँकी रहेका छन्। विशेषगरी सेवा केन्द्र निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणमा देखिएको विवादका कारण निर्माण प्रभावित भएको थियो। सोही अवधिसम्म अधिग्रहण गर्नुपर्ने कुल ३७० रोपनीमध्ये अधिकांश जग्गा अधिग्रहण भइसके पनि केही क्षेत्र सडक अधिकारभित्र पर्ने विवादका कारण हस्तान्तरण हुन सकेको थिएन।
यसैका कारण सेवा केन्द्र निर्माणका लागि छुट्याइएको रु. १३ करोडभन्दा बढीको काम स्थगित गरिएको थियो। अधिग्रहण गरिसकिएको जग्गाको उपयोग सुनिश्चित गर्न सम्बन्धित निकायले समन्वय र पहल गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
त्यसैगरी, नयाँ थपिएका कार्यसूचीमा मूल्य समायोजन नदिने निर्णय विपरीत करिब रु. ९ करोडभन्दा बढी भुक्तानी गरिएको पाइएको थियो। उक्त रकम असुल गर्नुपर्ने विषय सम्बन्धित निकायले उठाएको छ।
योजनाको समग्र निर्माण अवधि २०८२ सालसम्म तोकिएको भए पनि हालसम्म सञ्चालन मोडालिटी, स्वामित्व र व्यवस्थापनसम्बन्धी स्पष्ट कार्यविधि तयार भएको छैन। सुरुङ मार्ग सञ्चालनमा ल्याउनुअघि आवश्यक नीतिगत तथा व्यवस्थापकीय तयारी समयमै गर्नुपर्ने देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे