
काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। अघिल्लो आर्थिक वर्षमा यो नाफा ६ अर्ब १९ करोड रुपैयाँ मात्र रहेको थियो। यस आधारमा बैंकको नाफा १५.०१ प्रतिशतले बढेको हो।
बैंकका अनुसार खुद ब्याज आम्दानीमा सामान्य ०.०६ प्रतिशत र फि तथा कमिशन आम्दानीमा ५.३८ प्रतिशत वृद्धि भए पनि, इम्पेरमेन्ट चार्ज उल्लेख्य रूपमा घट्नु नै नाफा बढ्ने मुख्य कारण बनेको हो। अघिल्लो वर्ष ४ अर्ब ६३ करोड रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष घटेर २ अर्ब ३९ करोड रुपैयाँमा सीमित भएको छ।
वित्तीय विवरणअनुसार, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ३.४२ प्रतिशतले बढेर सञ्चालन मुनाफा २५.४४ प्रतिशतले उक्लिएको छ। यसले बैंकको नाफा वृद्धिमा थप टेवा पुर्याएको छ।
नबिल बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ३६ अर्ब ६८ करोड रुपैयाँ सञ्चित छ। असार मसान्तसम्म बैंकले ५ खर्ब २४ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ र ४ खर्ब १२ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६४ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी (EPS) ३ रुपैयाँ ४४ पैसाले बढेर २६ रुपैयाँ ३४ पैसा पुगेको छ।
आर्थिक वर्षको अन्त्यमा बैंकको मूल्य–आम्दानी अनुपात (P/E Ratio) २०.५५ गुणा र प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ५८ पैसा रहेको छ। यी सूचकहरूले बैंकको वित्तीय स्थिति स्थिर रहनुका साथै शेयरधनीको मूल्य वृद्धिमा योगदान गरेको देखाउँछ।
विश्लेषकहरूका अनुसार, इम्पेरमेन्ट चार्जमा आएको ठूलो कमी र सञ्चालन दक्षतामा सुधार नै आगामी त्रैमासिक परिणाममा पनि नबिल बैंकलाई प्रतिस्पर्धी स्थिति कायम गर्न मद्दत पुर्याउने सम्भावना देखिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे