
काठमाडौँ, १२ साउन। देशभर सक्रिय रहेको मनसुनी प्रणालीका कारण आज बिहानदेखि काठमाडौँसहित देशका विभिन्न भागमा वर्षा जारी छ। जल तथा मौसम विज्ञान विभागका अनुसार केही स्थानमा भारी वर्षा नजिकको मात्रामा पानी परेको छ भने तराईका धेरैजसो क्षेत्रहरूमा अझै उल्लेखनीय वर्षा हुन बाँकी छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिट ढकालका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। उनले बताएअनुसार तराईको उत्तरी भागमा सामान्य वर्षा भए पनि दक्षिणी भूभागमा केवल छिटपुट पानी परेको र त्यो पर्याप्त नभएको स्पष्ट पारे। उनका अनुसार वर्तमान मौसमी प्रणाली तीव्र नहुँदा तराई क्षेत्रमा वर्षा कम भएको हो।
पछिल्लो ६ घण्टामा देशका विभिन्न स्थानमा उल्लेखनीय वर्षा मापन गरिएको छ। धनकुटाको मछुवाघाटमा ४२, गोरखाको आरुघाटमा ४२.२, कास्कीको लाम्पाटनमा ४४.८, र मुगुको गमगढी श्रीनगरमा ४०.८ मिलिमिटर वर्षा भएको छ। यस्तै, काठमाडौँमा करिब १५ मिलिमिटर मध्यम वर्षा मापन गरिएको छ। गोरखामा पनि ४१.६ मिलिमिटर वर्षा भएको छ।
पछिल्लो १२ घण्टाको अवधिमा इलाम, लमजुङ, नुवाकोट र सिन्धुपाल्चोकका केही स्थानमा भारी वर्षा भएको जानकारी विभागले दिएको छ। यस्तै, पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकको नार्पूगाउँमा १२७.४ मिलिमिटर र धनकुटाको त्रिवेणी मापन केन्द्रमा ११२.८ मिलिमिटर मापन गरिएको छ। त्यस्तै, काठमाडौँमा ८२.८ र नुवाकोटमा ८६.२ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव विद्यमान रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा औसत स्थानमा तथा पूर्वमा औसतभन्दा केही उत्तरतर्फ अवस्थित रहेको विभागले जानकारी दिएको छ।
विभागका अनुसार बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी प्रदेशको तराई भू–भाग, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको छ। नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे