
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आकस्मिक र भर्ना भएका बिरामीहरूको उपचारको लागि एकीकृत बिरामी प्रेषण निर्देशिका जारी गरेको छ, जसअनुसार पहिलो स्वास्थ्य संस्थाले बिरामीलाई रेफर गर्दा जिम्मेवारी वहन गर्नुपर्ने व्यवस्था गरिएको छ। अब, बिरामीलाई अर्को अस्पतालमा पठाउनुअघि, पहिलो अस्पतालले उपचारको अवस्था, शय्या र अन्य सेवाहरूको सुनिश्चितता गर्नुपर्नेछ। बिरामीको जीवनरक्षाको प्राथमिकता दिँदै, प्रत्येक अस्पताल, स्थानीय तह, प्रदेश र राष्ट्रियस्तरमा रेफरल एकाइ अनिवार्य बनाइएको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गत साउन महिनामा स्वास्थ्य केन्द्रको आकस्मिक कक्षमा बिना सोधखोज जीवनरक्षाको उपचार तुरुन्त सुरु गर्नुपर्ने र उपचार सम्भव नभएको अवस्थामा निकटतम अस्पतालमा सुरक्षित रेफर गर्ने घोषणा गरेका थिए। यसै आधारमा मन्त्रालयले निर्देशिका जारी गरेको हो।
नयाँ निर्देशिकाले स्वास्थ्य संस्थामा चाप व्यवस्थापन र बिरामीलाई ढिलाइ नगरी उपचार पाउने सुनिश्चितता गर्ने लक्ष्य राखेको छ। कुनै अस्पतालले उपचार गर्न नसक्ने अवस्थामा, उक्त अस्पतालले बिरामीलाई अर्को अस्पतालमा नपुर्याउँदै आवश्यक उपचारको सुनिश्चितता गर्नुपर्नेछ। यसका लागि, सम्बद्ध अस्पतालसँग समन्वय गरेर बिरामीको उपचारको अवस्था जाँच गरिनेछ।
निर्देशिकामा बिरामीको परीक्षण रिपोर्ट दोहोर्याउनु नपर्ने गरी जानकारीको आदानप्रदान हुने व्यवस्था गरिएको छ। यसका साथै, स्वास्थ्य सेवाको गुणस्तर र रेफर प्रक्रियामा सुधार ल्याउनका लागि स्थानीय तह, प्रदेश र सङ्घीय स्तरमा स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिने अपेक्षासमेत गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे