
काठमाडौं — सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नख्खुस्थित एनसेल कार्यालय अवलोकन गरेका छन्। मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले जेन-जी आन्दोलनका क्रममा भएको क्षति तथा सेवा पुनः सञ्चालनका बारेमा जानकारी गराएका थिए।
भदौ २४ गते लैनचौरस्थित एनसेलको केन्द्रीय कार्यालयमा तोडफोड, आगजनी र लुटपाटले करिब ६५ करोड रूपैयाँको क्षति पुर्याएको थियो। त्यसपछि सेवा नख्खु कार्यालयबाट सञ्चालन हुँदै आएको छ। अवलोकनपछि मन्त्री खरेलले विद्यार्थी र जेन-जी लक्षित नयाँ प्याक र दुर्गम क्षेत्रमा टेलिकम पहुँच विस्तारको योजनाबारे प्रसन्नता व्यक्त गरे।
एनसेलले जेन-जी लक्षित प्याक सार्वजनिक गर्ने र १०० जना विद्यार्थीलाई रु एक करोडको छात्रवृत्ति घोषणा गर्ने तयारीमा छ। साथै, सगरमाथा क्षेत्रको गोखरसेपसम्म पाँच नयाँ टावर थप गरी फोरजी सेवा विस्तार गर्ने योजना रहेको जानकारी कम्पनीले दिएको छ।
मन्त्री खरेलले पछिल्लो समय देखिएका समस्या समाधानका लागि सरकार प्रयासरत रहेको उल्लेख गर्दै, सबै नीतिगत र विवादहरू कानुनसम्मत रुपमा समाधान हुने विश्वास व्यक्त गरे। एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले नेपालमा अन्तर्राष्ट्रिय स्तरको टेलिकम सेवा विकासका लागि सरकारसँग सहजीकरण आवश्यक रहेको बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे