
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ तथा प्रचलित कानुनअनुसार निर्धारण गरिएका न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न सम्पूर्ण रोजगारदातालाई आग्रह गरेको छ। मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा कानुनविपरीत श्रमिकलाई न्यूनतम पारिश्रमिक तथा अन्य सुविधा नदिएको पाइएमा प्रचलित कानुनी कारबाही गरिने स्पष्ट उल्लेख गरिएको छ।
मन्त्रालयका अनुसार हाल विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिमी श्रमिकका रूपमा कार्यरत स्वास्थ्यकर्मी तथा नर्सिङ कर्मचारी, निजी तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीलगायत अन्य प्रतिष्ठानमा कार्यरत व्यक्तिबाट न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी सुविधा नपाएको भन्ने उजुरीहरू प्राप्त भइरहेका छन्। यस विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
श्रम ऐन, २०७४ को दफा १८ उपदफा (३) अनुसार तालिमीका रूपमा काममा लगाइएका श्रमिकलाई समेत न्यूनतम पारिश्रमिक, बिरामी बिदा, उपदान, सञ्चयकोष तथा बिमा जस्ता सामाजिक सुरक्षाका सुविधा अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था रहेको छ।
मन्त्रालयले सम्बन्धित सबै प्रतिष्ठान, संस्था तथा सरोकारवालालाई उक्त कानुनको स्वतःस्फूर्त पालना गर्न आग्रह गर्दै श्रमिक अधिकार सुनिश्चित गर्न जोड दिएको छ। साथै श्रमिकको हक अधिकार उल्लङ्घन गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने चेतावनीसमेत दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे