
ललितपुर ।नेपाल इन्जिनियर्स एसोसिएसन (NEA) र नेपाल मेडिसिटी अस्पतालबीच आपसी सहकार्यअन्तर्गत सम्झौता (MoU) सम्पन्न भएको छ। गत बिहीबार, २०२५ जुन ५ तारिखका दिन ललितपुरको इन्जिनियर भवन, पुल्चोकमा आयोजित एक समारोहबीच औपचारिक रूपमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।
यस सहकार्य अन्तर्गत नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रितहरू (पति/पत्नी, आमा–बुबा र २२ वर्षमुनिका दुईजना बच्चा) लाई नेपाल मेडिसिटी अस्पतालबाट विशेष स्वास्थ्य सेवा तथा छुटहरू प्रदान गरिनेछ।
सम्झौताअनुसार सदस्यहरूलाई वार्षिक स्वास्थ्य परीक्षण (Annual Health Check-Up 2025) मा ४० प्रतिशत छुट तथा अस्पतालमा भर्ना भएर गरिने उपचार सेवामा १० प्रतिशत छुट दिइनेछ। यस छुटमा औषधि, प्रयोग्य सामग्री, इम्प्लान्ट, प्याकेज सेवा तथा बाह्य स्रोतबाट गरिने परीक्षणहरू भने समावेश हुने छैनन्।
त्यसैगरी, NEA सदस्य तथा उनीहरूको परिवारका लागि विभिन्न निःशुल्क सेवाहरू पनि उपलब्ध गराइनेछ। यस अन्तर्गत हरेक वर्ष एकपटक आँखा शिविर, वर्षमा दुईपटक रक्तदान कार्यक्रम, एकपटक स्वास्थ्य शिविर र दुईपटक चिकित्सकद्वारा स्वास्थ्यसम्बन्धी अन्तरक्रिया कार्यक्रम (Health Talk Session) आयोजना गरिनेछ।
यसबाहेक, सदस्यहरूलाई आवश्यक परेमा अतिथिसेवा (Guest Care Service) र भेटघाटको समय मिलाउन (Appointment Scheduling) सहयोग गरिनेछ। साथै, अस्पतालको २.५ किलोमिटर वरिपरि क्षेत्रमा निःशुल्क एम्बुलेन्स सेवा समेत उपलब्ध गराइनेछ।
नेपाल इन्जिनियर्स एसोसिएसनले यस सम्झौताबाट आफ्ना सदस्यहरू र तिनका परिवारको स्वास्थ्य सुरक्षा र कल्याण प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। “स्वस्थ रहौं, सशक्त बनौं” भन्ने नारासहित NEA ले आगामी दिनमा पनि यस्ता सदस्य हितकारी कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता जनाएको छ
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे