
काठमाडौँ, मङ्सिर २३ । मेलम्चीको पानी तेस्रो पटक उपत्यकाका धारामा पुग्दैछ । गत असार १७ गतेबाट मेलम्चीको पानी वितरण बन्द थियो ।खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी छोड्नुहुनेछ ।
मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार सुन्दरीजल प्रशोधन केन्द्रबाट बिहीबार काठमाडौँ भण्डार केन्द्रका लागि पानी छोडिएको छ । उहाँले यस पटक लगातार कम्तीमा छ महिना पानी वितरण गरिने जानकारी दिनुभयो ।
यसअघि २०७७ चैतमा पहिलो पटक मेलम्चीको पानी अस्थायी रूपमा राजधानी ल्याइएको थियो । मेलम्ची खोलामा आएको बाढीपहिरोका कारण क्षति पुगेपछि वितरण बन्द गरिएको थियो र २०७८ चैतमा दोस्रो पटक मेलम्चीको पानी वितरण थालिएको थियो ।
सुरुङबाट प्रतिसेकेन्ड करिब पाँच सय लिटर पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा जम्मा भइरहेको छ । उपत्यकामा क्रमशः दैनिक १७ करोड लिटर पानी वितरण गरिनेछ । काठमाडौँ उपत्यका खानेपानी आयोजनाअन्तर्गतका विभिन्न स्रोतबाट सङ्कलित १० करोड लिटर पानी पनि वितरण गरिनेछ ।आजको गोरखापत्र दैनिकबाट
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे