
काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्न लागेको छ। पहिलो बैठक बिहान ११ बजे अर्थ समितिको हुनेछ, जहाँ भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० को सम्बन्धमा सरोकारवालाहरूसँग छलफल हुनेछ।
त्यसैगरी, बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बस्ने छ, जसमा सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन र संघीय संसदले बनाएका ऐन कानून कार्यान्वयनका चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रमहरूको प्रतिवेदन प्रस्तुत र छलफल गरिने छ। यसमा कैलाली जिल्लाको धनगढी, धनुषा जिल्लाको जनकपुरधाम र दाङ जिल्लाको देउखुरीमा भएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८१ को समीक्षा हुनेछ।
साढे ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपालमा दिगो विकास लक्ष्यको कार्यान्वयन स्थिति अध्ययन र मूल्याङ्कन प्रतिवेदन, २०८० को सार्वजनिकीकरण र छलफल हुनेछ।
अन्त्यमा, दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्ने छ, जसमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को दफावार छलफल हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे