
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको अभियान चलाउँदै आएका दुर्गा प्रसाईँसँग मंगलबार बालुवाटारमा भेटवार्ता गरिन्। भेटका क्रममा प्रधानमन्त्री कार्कीले मुलुकमा शान्ति कायम राख्न र दिगो लोकतन्त्र स्थापना गर्न निर्वाचन एक मात्र सही माध्यम भएको उल्लेख गर्दै प्रसाईँलाई सहयोग गर्न आग्रह गरिन्।
प्रधानमन्त्रीले अब मुलुक थप अस्थिर बन्न नसक्ने अवस्था रहेको भन्दै आफ्ना माग र असन्तुष्टि शान्तिपूर्ण र लोकतान्त्रिक तरिकाले अघि बढाउन प्रसाईँलाई सुझाव दिइन्। उनले जनतामाझ गएर आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको सही बाटो भएको बताइन। नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने मागसहित अभियान चलाउँदै आएका प्रसाईँलाई उनले निर्वाचन प्रक्रियामार्फत जनसमर्थन परीक्षण गर्न सल्लाह दिइन्।
प्रधानमन्त्री कार्कीले मुलुकलाई कठिन परिस्थितिबाट शान्ति र सुव्यवस्थातर्फ फर्काइएको बताएर सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिन्। भेटमा उनले शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र प्रसाईँलाई उपहार दिइन्। उनले सरकार न्याय, सुशासन र भ्रष्टाचारविरुद्ध प्रतिबद्ध रहेको स्पष्ट पार्दै केही मुद्दा जायज भएको स्वीकारिन् र तिनको समाधानका लागि गृहकार्य भइरहेको जानकारी दिइन्।
दुवै पक्षबीच मुलुकको राजनीतिक अवस्था, निर्वाचन, शान्ति–सुरक्षा र नागरिकका मागबारे विस्तृत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे