
काठमाडौं। चिकित्सा शिक्षा आयोगको २० औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गत सञ्चालित चिकित्सा शिक्षाका प्रमाणपत्र तह (PCL) कार्यक्रमहरूको सिट संख्या निर्धारण गरेको छ।
प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अनुगमन र मूल्याङ्कन प्रतिवेदनको आधारमा हाल आङ्गिक, गैह्रनाफामूलक (प्रतिष्ठान तथा साझेदारी) र निजी क्षेत्रका गरी कुल २८५ शिक्षण संस्थाका लागि सिट निर्धारण गर्ने निर्णय गरेको हो।
बैठकमा मेडिकल कलेजहरूलाई पनि PCL नर्सिङ कार्यक्रम सञ्चालनको विषयमा आवश्यक कानुनी सहजीकरणबारे प्रारम्भिक छलफल भएको जनाइएको छ।
साथै, चिकित्सा शिक्षाको स्नातक र स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरूका लागि शुल्क निर्धारणसम्बन्धी मापदण्ड तयार गर्न गठन गरिएको कार्यदलले आफ्नो प्रतिवेदन पेश गरेको छ। उक्त कार्यदलले तयार पारेको मस्यौदा प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश गरिएकामा प्रधानमन्त्री ओलीले आयोगका उपाध्यक्ष प्रा. डा. अञ्जनीकुमार झालाई सो प्रतिवेदन अध्ययन गरी कार्यान्वयन प्रस्ताव ल्याउन निर्देशन दिएका छन्।
बैठकले आयोगको आगामी आर्थिक वर्षका लागि आन्तरिक स्रोतमा आधारित कार्यक्रम तथा बजेट समेत स्वीकृत गरेको छ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा ऐन, २०५७ लाई वर्तमान परिवेश अनुसार संशोधन गर्ने गृहकार्य सुरु गर्नुपर्नेमा जोड दिनु भयो। साथै, आयोगलाई आफ्नो वास्तविक कार्यक्षेत्रमा सीमित गर्दै प्रभावकारिता बढाउने दिशामा अगाडि बढ्न निर्देशन दिनुभएको छ। उहाँले शिक्षा क्षेत्रमा नियोजनभन्दा बढी गुणस्तरीयता र सहजीकरणमा प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे