
काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत सञ्चालित एमसीए–नेपालले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा न्यू बुटवल सबस्टेसन र १८ किमि प्रसारण लाइन निर्माणको काम औपचारिक रूपमा सुरु गरेको छ। बुधबार आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, अमेरिकी राजदूत डिन आर थम्प्सन, एमसीसीका आवासीय राष्ट्र निर्देशक डायन फ्रान्सिस्को तथा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टको उपस्थितिमा परियोजनाको शिलान्यास गरिएको हो। एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण हुन लागेका यी पूर्वाधारले नेपालको उच्च भोल्टेज विद्युतीय प्रसारण प्रणालीलाई विश्वसनीय र सशक्त बनाउँदै ऊर्जा आपूर्ति स्थिरता बढाउने तथा नेपाल–भारत ऊर्जा व्यापारलाई विस्तार गर्ने लक्ष्य लिएको बताइएको छ। कार्यक्रममा अर्थमन्त्री खनालले स्वच्छ ऊर्जा विस्तार, क्षेत्रीय व्यापार मजबुतीकरण तथा दिगो आर्थिक वृद्धिमा सहयोग पुग्ने परियोजनालाई सरकारका प्राथमिकतासँग मेल खाने बताए। अमेरिकी राजदूत थम्प्सनले प्रसारण लाइन र सबस्टेसनले घरायसी तथा औद्योगिक क्षेत्रमा मात्र होइन, समग्र आर्थिक प्रगतिमा ठूलो अवसर सिर्जना गर्ने उल्लेख गरे। लगभग पाँच करोड अमेरिकी डलरको लागतमा बन्ने ४०० केभी क्षमताको प्रसारण लाइनले आगामी दशकमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने तयारीमा रहेको नेपाललाई महत्वपूर्ण सहारा पूर्याउनेछ। ऊर्जा चुहावट घटाउँदै, निजी लगानी आकर्षित गर्दै र वैदेशिक व्यापारको बाटो खुला गर्दै, नयाँ पूर्वाधारले नेपालका दीर्घकालीन विकास लक्ष्यहरूलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे