
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले देशभर एकैपटक करिब २५ सय कर्मचारीको सरुवा गरेको छ। प्राधिकरणअन्तर्गत वितरण तथा ग्राहक सेवा विभागमा कार्यरत २ हजार ४८० जना कर्मचारी सरुवा गरिएका हुन्। हालै सार्वजनिक भएका विद्युत चोरी प्रकरणमा आफ्नै कर्मचारीको संलग्नता देखिएपछि सरुवा प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणको प्रारम्भिक अनुसन्धान तथा प्रहरीको कारबाहीमा सुपरभाइजरसहित १२ जना कर्मचारी पक्राउ परेपछि विद्युत चोरीमा गम्भीर मिलेमतोको तथ्य सार्वजनिक भएको थियो। ती कर्मचारीहरूले पहुँचवाला उपभोक्तासँगको साँठगाँठमा विद्युत् महसुल कम लिने, वा बिल नै नउठाउने जस्ता कार्यमा संलग्न रहेको खुलासा भएको थियो।
दशौँ वर्षदेखि एउटै स्थानमा कार्यरत कर्मचारीहरूलाई लक्षित गर्दै गरिएको यो सरुवामा पाँचौँ तहसम्मका, विशेषतः मिटर रिडिङलगायत फिल्डमा काम गर्ने कर्मचारीहरू मात्र परेका छन्। प्राधिकरणका अनुसार एउटै स्थानमा लामो समयसम्म रहँदा ठूला उपभोक्तासँग “सेटिङ” मिलाएर अनियमितता हुने गरेको पाइएपछि यस्तो निर्णय लिनुपरेको हो।
सरुवा भएपछि कांग्रेस र एमालेनिकट कर्मचारी संगठनहरूले यसको विरोध जनाउँदै प्राधिकरण मुख्यालयमा कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकक्षमै धर्ना दिएका छन्। तर प्राधिकरणले भने पारदर्शिता र सेवा सुधारका लागि यो कदम अनिवार्य भएको बताउँदै, अनियमितता विरुद्ध कडाइका साथ अघि बढ्ने अडान दोहोर्याएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे