
ललितपुर । ललितपुर महानगरपालिका डिजिटल प्रविधिमैत्री बन्दै गएको छ। विशेषगरी घरजग्गा तथा नक्सा पास प्रक्रियामा कागजी झन्झटबाट मुक्त भई अनलाइन प्रणाली लागू भएपछि सेवाग्राहीहरू उत्साहित भएका छन्। बायोमेट्रिक प्रणाली र डिजिटल सिग्नेचर प्रविधि समावेश गरिएको यस प्रणालीमार्फत घरमै बसेर नक्सा पास गर्न सकिने सुविधा उपलब्ध भएको छ।
महानगरपालिकाले दुई वर्षअघि नै यो प्रणाली लागू गर्ने तयारी सुरु गरेको थियो। केही प्राविधिक र व्यवस्थापकीय कारणले ढिलाइ भएपनि पुसको पहिलो सातादेखि अनलाइन नक्सा पास सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ।
महानगरका सहरी विकास प्रमुख श्रीकुमार महर्जनका अनुसार, एक महिनासम्म परीक्षण अवधिमा सञ्चालन गरिएको प्रणालीको प्रारम्भिक प्रतिक्रिया सकारात्मक देखिएको छ। सफ्टवेयरमा कहिलेकाहीं सामान्य समस्या देखिएपनि सेवा प्रवाह निरन्तर रहँदै आएको उनले जानकारी दिए। पुस २ गते महानगरको स्थापना दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा यो सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको थियो।
उनका अनुसार, हालसम्म ६० देखि ७० फाइलहरू अनलाइन प्रणालीमार्फत पास भइसकेका छन्। डिजिटल सिग्नेचरको अनिवार्यता नलगाइएको भएपनि डिजाइनरहरूलाई बायोमेट्रिक प्रमाणिकरण गरी मात्र नक्सा पेश गर्न सकिने व्यवस्था गरिएको छ।
बायोमेट्रिक प्रणालीमा थम्ब इम्प्रेशन, हस्ताक्षर र अनुहार पहिचान गरी प्रमाणिकरण गरिने छ। डिजिटल सिग्नेचर प्रणाली हाल पेन्ड्राइभ प्रविधिमा आधारित रहेको र पासवर्ड मार्फत जुनसुकै स्थानबाट प्रयोग गर्न सकिने सुविधा प्रदान गरिएको छ। विदेशमा रहेका सेवाग्राहीका लागि यो प्रविधि उपयोगी सावित भएको महर्जनले बताए।
उनका अनुसार, अनलाइनमार्फत आवेदन दिएपछि इमेलमार्फत सफ्ट टोकन प्रदान गरिने व्यवस्था मिलाइएको छ। विदेशमा रहेका सेवाग्राहीका लागि पासपोर्ट, भिसा तथा नेपाल आगमन सम्बन्धी कागजात आवश्यक पर्नेछ।
यसबाहेक, अनलाइन प्रणालीमार्फत राजस्व भुक्तानी गर्ने व्यवस्था उपलब्ध गराइएकाले सेवाग्राहीहरूलाई कार्यालयमा उपस्थित हुनुपर्ने झन्झटबाट मुक्त गरिएको छ। नक्सा पासपछि आवश्यक पर्ने कागजात इमेलमार्फत नगरपालिकासँग आदानप्रदान गर्न सकिने भएकाले सेवा अझ सरल बनेको महानगरको दाबी छ।
भवन निर्माण अनुमति बिना निर्माण कार्य गर्न नदिन महानगरपालिकाले विशेष कार्यविधि तयार पारेको छ। साथै, निर्माण प्रक्रियामा आवश्यक परेमा परिमार्जन गर्न सकिने गरी फागुन ८ गतेदेखि विधिवत रूपमा निवेदन स्वीकार गर्ने निर्णय गरिएको छ।
वडास्तरमा समेत बायोमेट्रिक उपकरणहरू उपलब्ध गराइएकाले सेवाग्राहीहरूलाई थप सहज भएको बताइएको छ। सेवाग्राहीहरूले आफ्नो निवेदनको स्थिति, प्रक्रियागत चरणहरू र रोकावटबारे पनि अनलाइनमार्फत जानकारी लिन सक्नेछन्, जसले अनियमिततामा कमी आउने विश्वास गरिएको छ।
हाल नेपाल सरकारको सर्भर प्रयोग गरिए पनि महानगरपालिकाले छिट्टै आफ्नै सर्भर निर्माण गर्ने योजना बनाएको छ। नक्सा पास तथा राजस्व संकलन पूर्ण रूपमा अनलाइन प्रणालीबाट हुने भएकाले सेवाग्राहीहरूलाई थप सुविधा पुग्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे