
काठमाडौँ, २३ फागुन । माओवादी धारका पार्टीहरुले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको प्रतिवाद गर्ने सहितका ३ निर्णय गरेको छ ।
आज बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको माओवादी धारका विभिन्न पार्टीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले गरेका निर्णय यस्ता छन्:
१) विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गरिने।
२) संक्रमणकालिन न्यायसंग सम्बन्धित सबै विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनु पर्छ भन्नेमा एकमत। र, सिघ्र रूपमा कार्यान्वयन गर्न ध्यानाकर्षण।
३) विभिन्न समयमा राज्यसँग भएका सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध छौं।
प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्दै आएका छन् । यस्तै, सर्वोच्च अदालतले प्रचण्डविरुद्ध परेको रिट दर्ता गर्नका लागि आदेश दिएको थियो ।
केही वर्षअगाडि काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका पाँच हजारजनाको आफूले जिम्मा लिने भनेर दिएको अभिव्यक्तिअनुसार फौजदारी अभियोग दायर हुनुपर्ने माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीले सर्वोच्चमा रिट दर्ता गर्न माग गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे