
काठमाडौँ , २३ जेठ । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टविरुद्ध जिल्ला अदालत काठमाडौंले दिएको धरौटीमा रिहा गर्ने आदेश बदर गरियोस् भन्ने मागसहित दर्ता भएको निवेदनमाथि आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ।
बिष्टले बिहीबार उच्च अदालतमा निवेदन दर्ता गराउँदै आफूलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने जिल्ला अदालतको आदेश खारेज गर्न माग गरेका हुन्। उक्त निवेदनको सुनुवाइ आज न्यायाधीश डालकुमार खड्का र सूर्यप्रसाद पराजुलीको इजलासमा हुने कार्यतालिका तय गरिएको छ।
यसअघि नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले समेत विष्टको धरौटीमा रिहा अस्वीकार्य रहेको भन्दै जिल्ला अदालतको निर्णयविरुद्ध निवेदन दिएका थिए। चौधरीको रिटमा जेठ २० गते न्यायाधीश टंकप्रसाद गुरूङको इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको थियो।
विष्टले वैशाख १७ गते सर्वोच्च अदालतको लेटरप्याड दुरुपयोग गर्दै रेशम चौधरीलाई पक्राउ गरी कारागार चलान गर्न निर्देशन दिएका थिए। सोही आधारमा चौधरीलाई प्रहरीले सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका बेला पक्राउ गरेको थियो।
उक्त घटनापछि सर्वोच्च अदालत प्रशासनले विष्टमाथि अनधिकृत पत्राचारको आरोपमा छानबिन थालेको थियो। छानबिनपछि काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जेठ ५ गते लिखतसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो। त्यस दिन नै न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई एक लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे