
काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेपछि एमाले नेता महेश बस्नेतले अहिलेको राजनीतिक अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेपाल पहिले राजनीतिक बन्दी नहुने देशका रूपमा चिनिएको भए पनि अहिलेका घटनाले त्यो छवि कमजोर बनेको बताएका छन्। उनका अनुसार कुनै देशमा राजनीतिक बन्दी नहुनु लोकतन्त्रको महत्वपूर्ण संकेत मानिन्छ, तर अहिले नेपालमा त्यस्तो अवस्था नरहेको जस्तो देखिएको छ।
बस्नेतले बालेन नेतृत्वको सरकारप्रति पनि आलोचना गरेका छन्। उनले अनुभव कम भएका र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाले देशमा तनाव र द्वन्द्व बढ्न सक्ने बताएका छन्।
उनका अनुसार यस्ता कदमले राजनीतिक प्रतिशोधको झल्को दिन्छ र लोकतान्त्रिक मूल्य–मान्यतामाथि असर पार्न सक्छ। साथै, प्रहरीले सरकारी सम्पत्ति र सुरक्षा जोगाउन नसक्ने अवस्थामा पनि नेताहरूलाई पक्राउ गर्न ठूलो संख्यामा परिचालन हुनु दुःखद भएको उनको भनाइ छ।
बस्नेतले देशलाई प्रतिशोधको राजनीतिबाट जोगाउन र लोकतन्त्रको रक्षा गर्न एमालेको आन्दोलनमा सहभागी हुन सबैलाई आह्वान गरेका छन्। उनले पार्टीको सचिवालय बैठकपछि थप कार्यक्रम सार्वजनिक गरिने जानकारी पनि दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे