
काठमाडौं । भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस मादुरो गुएराले आफ्ना बुबा–आमालाई भेनेजुएला फर्काउन अन्तर्राष्ट्रिय समुदायसँग सहयोग र समर्थनको अपिल गरेका छन्। उनले अमेरिकाले मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेको घटनालाई ‘अपहरण’ भनेका छन्।
भेनेजुएलाको राष्ट्रिय सभामा बोल्दै मादुरो गुएराले अमेरिकी सेनाले क्याराकासमा गरेको कारबाहीले देशको सार्वभौमिकतामाथि गम्भीर चोट पुगेको बताए। यस्तो कामलाई सामान्य मान्न थालियो भने कुनै पनि देश सुरक्षित नरहने उनको चेतावनी थियो। “आज भेनेजुएला, भोलि अरू कुनै देश हुन सक्छ,” उनले भने।
उनले अन्तर्राष्ट्रिय समुदायलाई चुप नबस्न आग्रह गर्दै यो राजनीतिक मात्र नभई नैतिक र कानुनी विषय भएको बताए। साथै, आफ्ना बुबा–आमा र आफूविरुद्ध लगाइएका लागुऔषध तस्करी र हतियारसम्बन्धी आरोपहरू अस्वीकार गर्दै परिवार राजनीतिक प्रतिशोधको सिकार भएको दाबी गरे।
यसैबीच, मादुरो न्युयोर्कको संघीय अदालतमा उपस्थित भई आफू निर्दोष रहेको बताएका छन्। उनका वकिलहरूले पक्राउ अन्तर्राष्ट्रिय कानुनविपरीत भएको भन्दै अमेरिकी अदालतको अधिकारक्षेत्र नै चुनौती दिने बताएका छन्। अमेरिकाले भने मादुरोविरुद्ध कडा कानुनी कारबाही अघि बढाउने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे