कर्णाली, असोज २१ । कच्चापदार्थ र उचित बजार मूल्यको अभावका कारण बादी समुदायको मादल बनाउने पेसा सङ्कटमा परेको छ । कर्णालीका रैथाने बादी समुदायका युवा भने पछिल्ला केही वर्षयता यो पेसाबाटै पलायन भएका छन् ।
दैलेखको भैरवी गाउँपालिका–४ का रणवीर बादीले आफूहरूको मादल बनाउने, बिक्री गर्ने पेसा सङ्कटमा पर्दै गएको बताउनुभयो । उहाँले पनि तीन वर्षदेखि मादल बनाउन छाड्नुभएको छ । “मादल बनाउनु बादी जातिको पुख्र्यौली पेसा हो, यसको कच्चापदार्थ र बजारमा उचित मूल्य पाउन छाडेपछि मैले पनि मादल बेच्न छाडेँ”, रणवीरले भन्नुभयो, “उसो त कच्चापदार्थ पाइँदैन, पाइहाले पनि निकै महँगो मूल्य पर्छ, श्रमको मूल्य नजोडेर बिक्री गर्दासमेत केही फाइदा हुँदैन ।” रणवीर जस्तै अधिकांश बादी युवा पुख्र्यौली पेसाबाट पलायन भइसकेका छन् ।
बादी सरोकार समितिका संयोजक हिक्मत बादीले व्यावसायिकरूपले फाइदा नहुने देखिएपछि विस्तारै आफ्नो समुदायले मादल बनाउन छाडेको बताउनुभयो । उहाँका अनुसार हाल मादल बनाउने युवाको सङ्ख्या निकै कम छ । दैलेखका तल्लो डुङ्गेश्वर, भैरवी डाडीमाडी र दुल्लुका केही बादी युवाले मादल बनाउने पेसालाई निरन्तरता दिएको पाइन्छ ।
“यही पेसाबाट जीविकोपार्जन गर्नै कठिन भएपछि यसप्रति आकर्षण घटेको हो”, हिक्मतले भन्नुभयो, “कुनैबेला हाम्रो जीविकोपार्जनको मुख्य आधार यही पेसा थियो, मादल दिएर प्रशस्त अनाज उठ्थ्यो, अहिले यसबाट गुजारा चलाउन पनि मुस्किल पर्ने भयो, मेहनत बढी र मूल्य कम पाउने भएपछि धेरैले छाडिसके ।” नयाँ पुस्तालाई मादल बनाउने सीपको हस्तान्तरण गर्न, बजारको ग्यारेन्टी गर्नसके बादी समुदायको पुरानो शिल्पीको संरक्षण हुने हिक्मतको भनाइ छ । मादलका लागि लाम्पाते, पटमेरो, सिरिस, उत्तिसजस्ता रुखको काठका साथै खरी, छालाको आवश्यकता पर्दछ । स्थानीयस्तरमा यी कच्चा पदार्थको अभाव हुने गरेको छ । गोरखापत्र दैनिक बाट
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे