
काठमाण्डौ । माछापुच्छ्रे बैंकले डिजिटल बैंकिङ क्षेत्रमा नवीनतम प्रविधिसँगै आफ्ना ग्राहकहरुलाई नयाँ अनुभव दिन M-Card सेवा प्रारम्भ गरेको छ। यस सेवामार्फत ग्राहकहरूले आफू, आफन्तजन, र प्रियजनहरूको तस्बिर तथा विभिन्न सांस्कृतिक र ऐतिहासिक स्थलका चित्रहरूलाई कार्डमा पर्सनलाइज्ड गर्न सक्नेछन्।
बैंकका अनुसार, M-Card ले ग्राहकलाई तस्बिरमा आफ्नो प्रेम, सम्मान र आस्था व्यक्त गर्ने अवसर प्रदान गर्नेछ। यसले कार्ड प्रयोगकर्तालाई विशेष अनुभूति जगाउने र नवीनताको आभास दिलाउने लक्ष्य राखेको छ।
हाल M-Card लाई भिसा डेबिट कार्डको रूपमा प्रस्तुत गरिएको भए पनि, भविष्यमा यसमा क्रेडिट कार्ड सेवाको समावेश गर्ने योजना रहेको बताइएको छ। माछापुच्छ्रे बैंकले आफ्ना २४ औं वार्षिकोत्सवको अवसरमा यो M-Card जारी गर्दा ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले भनेका छन्, “हामीले आफ्ना ग्राहकहरुलाई नवीनतम र व्यक्तिअनुकूलित बैंकिङ समाधानहरू प्रदान गर्न प्रतिबद्धता जनाएका छौं। M-Card सेवाको शुभारम्भले भिसा कार्डको सुविधासँगै ग्राहकहरुलाई आफ्नो व्यक्तित्व र रुचिहरूलाई प्रकट गर्ने अवसर दिन्छ।”
माछापुच्छ्रे बैंकले ग्राहक केन्द्रित डिजिटल सेवाहरूको विस्तार गर्न निरन्तर प्रयास गरिरहेको छ, र M-Card सेवाले ग्राहकहरूको बैंकिङ अनुभवलाई थप उत्कृष्ट बनाउनको लागि अर्को कदम हो।
ग्राहकहरूले M-Cardलाई पर्सनलाइज्ड गर्नका लागि बैंकको वेबसाइटमा जान सक्नेछन्, जहाँ उनीहरूले आफ्नो मनपर्ने तस्बिर अपलोड गरी सहजरुपले कार्ड पर्सनलाइज्ड गरिआफुले रोजेको यस बैंकको जुनसुकै शाखामार्फत सजिलै कार्ड प्राप्त गर्न सक्नेछन्। थप जानकारीको लागि, ग्राहकले बैंकको वेबसाइटमा जानुहोस् वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे