
काठमाडौं –नेपालमा विदेशबाट भित्रिने रेमिट्यान्सलाई थप सहज, सरल र विश्वासिलो बनाउने उद्देश्यसहित माछापुच्छ्रे बैंक लिमिटेडले कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग सहकार्य गरेको छ।
बैंक र अल मुजैनी एक्सचेन्जबीचको औपचारिक सम्झौता २०८२ साल वैशाख ११ गते बिहीबारका दिन कुवेतस्थित होटल मिलेनियम साल्मियामा आयोजित एक कार्यक्रमका बीच सम्पन्न भएको थियो। सम्झौतामा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र अल मुजैनी एक्सचेन्जका महाप्रवन्धक Mr. Hugh Fernandesले हस्ताक्षर गरेका थिए। कार्यक्रम माछापुच्छ्रे बैंकका अध्यक्ष श्री रोशन के.सी.को उपस्थितिमा सम्पन्न भएको थियो।
उक्त कार्यक्रममा कुवेतस्थित नेपाली राजदूतावासकी कार्यबाहक राजदूत श्रीमती सुजनी राणा प्रमुख अतिथि रहेकी थिइन्। साथै गैर आवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामा, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा कुवेतमा कार्यरत धेरै नेपालीहरूको उपस्थिति रहेको थियो।
त्यस अवसरमा बैंकले तयार पारेको कभर गीत पनि सार्वजनिक गरिएको थियो। माछापुच्छ्रे बैंकका पूर्व सञ्चालक हरिभक्त सिग्देलद्वारा रचित गीतलाई अध्यक्ष रोशन के.सी. र कार्यबाहक राजदूत सुजनी राणाले संयुक्त रूपमा सार्वजनिक गरेका थिए। सार्वजनिक गरेपछि बैंकले गीतलाई आफ्ना सम्पूर्ण सामाजिक सञ्जालमार्फत प्रशारण गर्ने जनाएको छ।
कुवेतमा सेवा सुरु भएपछि अब त्यहाँका नेपालीहरूले अल मुजैनी एक्सचेन्जका १४५ शाखामार्फत पठाएको रकम माछापुच्छ्रे बैंकका १६५ शाखा, ९९ शाखारहित बैंकिङ सेवा, ११ एक्सटेन्सन काउन्टर तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। साथै, अल मुजैनीमार्फत पठाइएको रकम नेपालका जुनसुकै बैंक खातामा तुरुन्त जम्मा हुने सेवा पनि उपलब्ध गराइएको छ।
माछापुच्छ्रे बैंकले स्थापना कालदेखि नै प्रविधिमैत्री सेवा विस्तारमा ध्यान केन्द्रित गर्दै आएको छ। हाल बैंकले १६५ शाखा, ९९ शाखारहित बैंकिङ सेवा, ११ एक्सटेन्सन काउन्टर र २०४ एटीएममार्फत देशभरका १८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे