
काठमाडौँ । कुमारी बैंक लिमिटेड ले सूचना सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आई.एस.ओ /आई.ई.सी २७००१: २०२२ (ISO/IEC 27001:2022) प्रमाणपत्र प्राप्त गरेको छ । यो प्रमाणपत्रले बैंकले अवलम्बन गर्दै आएको सूचना सुरक्षा नीति, कार्यविधि र नियन्त्रण प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहेको पुष्टि गर्दछ ।
आई.एस.ओ /आई.ई.सी २७००१: २०२२ अन्तर्गत सूचना सुरक्षासँग सम्बन्धित जम्मा ९३ वटा नियन्त्रणहरू समावेश हुन्छन्, जसलाई संस्थागत, जनशक्ति, भौतिक तथा प्रविधिगत श्रेणीमा वर्गीकरण गरिएको छ । यी नियन्त्रणहरू प्रभावकारी रूपमा कार्यान्वयन भएको नहुनु स्वतन्त्र बाह्य अडिटमार्फत परीक्षण गरिन्छ, र सो प्रक्रिया सफल भएपछि मात्र प्रमाणपत्र प्रदान गरिन्छ ।
यस प्रमाणपत्र प्राप्तिसँगै बैंकले सूचना सुरक्षा जोखिमको पहिचान, मूल्याङ्कन तथा व्यवस्थापन अन्तर्राष्ट्रिय अभ्यासअनुसार गरिरहेको स्पष्ट भएको छ । साथै, ग्राहकका विवरण सुरक्षित राख्ने, गोपनीयता सुनिश्चित गर्ने, आवश्यक पर्दा उपलब्ध गराउने तथा अनधिकृत पहुँचबाट जोगाउने सुदृढ प्रणाली कार्यान्वयन गरिएको प्रमाणित भएको छ ।
डिजिटल बैंकिङ सेवाको विस्तारसँगै साइबर सुरक्षा र डाटा गोपनीयता प्रमुख चासोको विषय बन्दै गएको सन्दर्भमा बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्ड सेवा तथा आन्तरिक प्रणालीहरूमा उच्चस्तरीय सुरक्षा मापदण्ड लागू गरेको जनाएको छ ।
बैंकका अनुसार सूचना सुरक्षा कुनै एकपटकको उपलब्धि नभई निरन्तर सुधारको प्रक्रिया हो । त्यसैले आगामी दिनहरूमा पनि नियामक मापदण्ड र अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासअनुसार आफ्ना सुरक्षा संयन्त्रहरू थप सुदृढ गर्दै जाने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे