
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको पतञ्जली जग्गा प्रकरणमा आफू निरन्तर सहानुभूतिपूर्वक संलग्न भएको तर यसलाई पदच्युत गर्ने प्रयासको रूपमा व्याख्या गरिनु ‘कच्चापन र बचपना’ भएको टिप्पणी गरेका छन्।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा खनालले भने, “माधव कमरेडलाई १९ करोडको मुद्दा लागेको छ। उहाँलाई कसरी बचाउने, मुद्दालाई अनुकूल बनाउने, प्रतिवादीको पक्ष बलियो बनाउने भन्ने विषयमा म सधैं सोचिरहेको छु। सचिवालयमा राखेको मेरो प्रस्ताव पनि त्यही उद्देश्यमा केन्द्रित छ।”
खनालका अनुसार, माधव नेपालमाथि लागेको मुद्दा २०६६ सालमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा हदबन्दी छुटमार्फत ५९३ रोपनी जग्गा खरिद गरी त्यसमध्ये ३५३ रोपनी १५ आना काष्ठमण्डप हाउजिङ कम्पनीलाई बिक्री गरेको प्रकरणसँग सम्बन्धित छ। आरोपअनुसार, २०६६ माघ १८ मा मन्त्रिपरिषद्को निर्णयबाट पतञ्जलीलाई ८१५ रोपनी जग्गा खरिदको हदबन्दी छुट दिइएको र दुई महिनाभित्रै २०६६ चैत ६ मा उक्त जग्गा बिक्रीको स्वीकृति दिइएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसलाई कानूनविपरीत र नीतिगत भ्रष्टाचार मानेर २०८२ जेठ २२ मा नेपालसहित ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो। सो मुद्दा दायर भएपछि नेपालको सांसद पद निलम्बनमा परेको छ।
खनालले यो मुद्दा केवल माधव नेपाललाई मात्र नभई पार्टीलाई नै लागेको भन्ने धारणा केही नेताहरूले सार्वजनिक गरिरहेकोमा असहमति जनाए। उनले यसलाई असैद्धान्तिक, अराजनीतिक र संवैधानिक मर्म विपरीतको अभिव्यक्ति भन्दै यस्तो टिप्पणीले उल्टै अध्यक्ष नेपाललाई बढी समस्यामा पार्ने चेतावनी दिए।
“कतिपयले यो राजनीतिक मुद्दा हो, पार्टीकै मुद्दा हो भनेर बेतुकका कुरा गरिरहेका छन्। यसले माधव नेपाललाई अझै ठूलो समस्यामा पार्छ,” खनालले भने, “उहाँले यो पहिलोपटक देखेको मुद्दा होइन, त्यसैले कच्चा कदम चाल्नुहुन्न भन्ने आशा राखेको छु।”
खनालले विगतमा केपी शर्मा ओली, राधाकृष्ण मैनालीलगायत नेतामाथि पनि मुद्दा लाग्दा राजनीतिक तथा कानुनी रूपमा लडिएको उदाहरण प्रस्तुत गर्दै, अहिले पनि परिपक्व र सोचविचारसहितको कदम आवश्यक भएको बताए। उनले मार्क्सवादी दृष्टिकोण र नयाँ नजीर कायम गर्ने उद्देश्यले प्रस्ताव प्रस्तुत गरेको उल्लेख गर्दै, “यदि कसैले यसलाई माधव कमरेडलाई सत्ताच्युत गर्ने वा बदलाको भावना राखेर आएको प्रस्ताव ठान्यो भने त्यो कच्चापन मात्र होइन, बचपना पनि हो,” भनेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे