
काठमाडौँ — नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा मुलुकको आर्थिक तथा वित्तीय स्थिति सकारात्मक देखिएको छ। विभिन्न सूचकहरूमा उल्लेखनीय सुधार देखिएको बैंकले जनाएको छ।
वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.३९ प्रतिशत रहेको छ, जुन सन्तोषजनक मानिएको छ।
विदेश व्यापारतर्फ, आयात १२.२ प्रतिशतले र निर्यात ६५.२ प्रतिशतले वृद्धि भएको छ। यसले व्यापार सन्तुलनमा केही सुधारको संकेत दिएको अर्थविद्हरूले बताएका छन्।
विप्रेषण आप्रवाहमा नेपाली रुपैयाँमा १०० प्रतिशत र अमेरिकी डलरमा ७३ प्रतिशतको उल्लेखनीय वृद्धि भएको छ। यसले वैदेशिक आयको प्रवाह मजबुत रहेको देखाउँछ।
शोधनान्तर स्थिति रु. ३४६ अर्ब २३ करोडले सकारात्मक बचतमा रहेको छ। कुल विदेशी मुद्रा सञ्चिति अमेरिकी डलरमा १७ अर्ब ६३ करोड पुगेको छ, जसले झन्डै १२ महिनाको आयात धान्न पर्याप्त हुने देखिएको छ।
नेपाल सरकारको कुल खर्च रु. ९९८ अर्ब ५२ करोड पुगेको छ भने सोही अवधिमा राजस्व संकलन रु. ८३१ अर्ब ४० करोड रहेको छ।
मुद्राप्रदायको वृद्धि दर ६.२ प्रतिशत पुगेको छ भने वार्षिक बिन्दुगत आधारमा सो वृद्धि ११.६ प्रतिशत रहेको छ।
बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ५.७ प्रतिशतले वृद्धि भएको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ७.१ प्रतिशतले बढेको देखिन्छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपमा ११.५ प्रतिशत र कर्जामा ८.३ प्रतिशतको वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेका यी तथ्यांकहरूले समग्रमा आर्थिक गतिविधिहरूमा सुधारको संकेत दिएको विश्लेषण गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे