
काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ ।जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा नागरिकलाई सहज होस् भनेर कामपाले आजदेखि २४ घण्टा हटलाइन सञ्चालन गरेको जनाएको छ ।
नागरिकलाई समस्या परे ११८० नम्बर फोन गरेर जानकारी लिन र कामपाबाट प्राप्त हुने सुविधा लिन सक्ने बताइएको छ । जनस्वास्थ्यको सवालमा कामपाले कुनै पनि कुरामा सम्झौता नगर्ने बताउँदै कामपाका प्रमुख बालेन्द्र साहले नगरवासीलाई पानी उमालेर मात्र पिउन र खाद्य स्वच्छतामा ख्याल गर्न अपिल गर्नुभएको छ ।
विद्यार्थीहरुलाई हैजा रोकथामका विषयमा सचेत गराउन शिक्षा विभागमार्फत विद्यालयहरुमा जानकारीमूलक कार्यक्रम गर्ने कामपा स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले बताउनुभयो ।
“हामीले सहरी स्वास्थ्य क्लिनिक र सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रहरुमा जीवन जल, पानी शुद्ध गर्ने औषधिको अभाव नहुने गरी तयारी अवस्थामा राखेका छौँ”, बिरामीलाई अस्पताल लैजानु परे नेपाल एम्बुलेन्स सेवाको सुविधा लिन सक्ने गरी प्रबन्ध मिलाएको जानकारी दिँदै प्रमुख त्रिपाठीले भन्नुभयो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे