
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको छ । सार्वजनिक यातायात अभावका कारण साँझपछि यात्रुहरूले महँगो यात्रा गर्नुपर्ने अवस्था अन्त्य गर्न यो सेवा सुरु गर्न लागिएको महानगरले जनाएको छ ।
महानगरका अनुसार उत्तर–दक्षिणतर्फ ललितपुरको लगनखेलदेखि बुढानीलकण्ठसम्म १६ किलोमिटर दूरीको रुट तय गरिएको छ, जसमा पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल र गंगालाल हृदय केन्द्रजस्ता स्थान समेटिएका छन् । त्यस्तै पूर्व–पश्चिमतर्फ थानकोटदेखि अन्तरराष्ट्रिय विमानस्थलसम्म २० किलोमिटर दूरीको अर्को रुट सञ्चालन हुनेछ, जसले सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने क्षेत्रलाई जोड्नेछ ।
यी दुई रुटमा चारवटा रात्रिकालीन विद्युतीय बस सञ्चालन गरिनेछन् । सेवा प्रारम्भ भएपछि साँझ ८ बजेदेखि राति ११ बजेसम्म बस सञ्चालन हुने र प्रत्येक बस स्टपमा करिब २० मिनेटको अन्तरालमा सेवा उपलब्ध हुने व्यवस्था मिलाइनेछ ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार सार्वजनिक यातायातको अभावले विशेषगरी महिला, किशोरी र विद्यार्थीलाई समस्या परेको सन्दर्भमा सुरक्षित र सुलभ सेवा दिन यो योजना ल्याइएको हो । बसहरूमा सुरक्षा सुनिश्चित गर्न सीसी क्यामेरा जडान गरिनेछ भने नगर प्रहरीको व्यवस्था समेत गरिनेछ ।
महानगरले यस सेवामार्फत अत्याधुनिक, सुरक्षित र भरपर्दो सार्वजनिक यातायात प्रणाली विकास गर्ने लक्ष्य राखेको छ । साथै दीर्घकालीन रूपमा सेवा विस्तार गर्न अन्य साझेदारसँग सहकार्य गर्ने योजना समेत अघि बढाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे