
काठमाडौं । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे काममा फर्किएका छन् । काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अदालतले पाण्डेको निलम्बनसम्बन्धी निर्णयलाई यथास्थितिमा राख्ने आदेश दिँदै तत्काल कार्यान्वयन नगर्न महानगरलाई निर्देशन दिएको हो। पाण्डे ६ महिने निलम्बनमा परेकामा उच्च अदालत पाटनले निलम्बन सम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै उनी बिहीबारदेखि काममा फर्किएका हुन् ।
उक्त आदेश मंगलबार उच्च अदालत पाटनका न्यायाधीशको एकल इजलासबाट जारी भएको हो। पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नियम विपरीत आफूलाई निलम्बन गरेको आरोप लगाउँदै रिट निवेदन दायर गरेका थिए। निवेदन दर्ता भएसँगै अदालतले प्रारम्भिक रुपमा हस्तक्षेप गर्दै उनको निलम्बन प्रक्रिया स्थगित गरेको हो।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले नगर प्रहरी प्रमुख पाण्डेलाई केही दिनअघि सात बुँदे स्पष्टीकरण पत्र पठाएका थिए। सो पत्रमा पाण्डेले आफ्नो कार्यसम्पादन, आचरण, तथा जिम्मेवारीप्रतिको व्यवहारमा गम्भीर त्रुटि देखिएको आरोप लगाइएको थियो।
स्पष्टीकरण पत्रको जवाफ अपेक्षित रूपमा नआएको भन्दै गुरागाईंले उनलाई निलम्बन गर्ने निर्णय गरेका थिए। तर पाण्डेले आफूविरुद्धको निर्णय मनोग्राही, असंवैधानिक र एकपक्षीय भएको जिकिर गर्दै अदालतमा रिट दायर गरेका थिए।
अदालतले प्रारम्भिक सुनुवाइपछि पाण्डेलाई तत्काल सेवाबाट अलग गर्नुले गंभीर अपूरणीय क्षति हुन सक्ने ठहर गर्दै तत्कालका लागि निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। अदालतले अब दुवै पक्षको थप लिखित जवाफ लिई विस्तृत सुनुवाइपछि स्थायी आदेश दिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे