
काठमाडौँ । काठमाडौं महानगरपालिका ले साझा यातायात सँग सहकार्यमा २०८३ वैशाख १ गतेदेखि राति बस सञ्चालन गर्ने भएको छ। ललितपुर र काठमाडौंका प्रमुख अस्पताल र केन्द्र हुँदै बुढानीलकण्ठसम्मको १६ किलोमिटर उत्तर–दक्षिण रुट तयार गरिएको छ। अर्को रुट पूर्व–पश्चिम दिशामा थानकोटदेखि अन्तर्राष्ट्रिय विमानस्थलसम्म २० किलोमिटर लामो हुनेछ। यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन गरिनेछ।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल का अनुसार, बेलुका ८ बजेपछि सार्वजनिक बस नहुँदा विद्यार्थी, महिला र किशोरीहरू समस्यामा परिरहेका छन्। महङ्गो यात्रा, असुरक्षा र दुव्र्यवहारका घटनाहरूले यात्रुहरूलाई कठिनाइ परेको छ।
रातको सेवा साँझ ८ बजेदेखि राति ११ बजेसम्म हुनेछ। बसहरू प्रत्येक स्टपमा २० मिनेट अन्तरालमा आउँछन्। सुरक्षा सुनिश्चित गर्न बसमा सिसिटिभी क्यामरा राखिनेछ र नगर प्रहरी पनि तैनाथ गरिनेछ।
महानगरपालिकाले यो सेवा अत्याधुनिक, सुरक्षित, सहज र भरपर्दो बनाउने लक्ष्य राखेको छ। साझेदारहरूसँग सहकार्य गर्दै दीगो र सुरक्षित रात्रिकालीन यातायात प्रणाली सञ्चालन गर्ने तयारी भइरहेको डंगोलले जानकारी दिइन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे