
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी जेठ ७ गतेदेखि सञ्चालन हुने ‘सीप मेला २०८२’ का लागि आवेदन खुला गरेको छ। मेलाको व्यवस्थापन तथा कार्यान्वयनका लागि गठित समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले मेलामा १० क्षेत्रका ३४ विधामा निःशुल्क तालिम सञ्चालन गरिने जानकारी दिएका छन्।
महानगरले यस मेलामार्फत २,०८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य लिएको छ। तालिम ३० दिने हुनेछ, जसमा प्रतिदिन ६ घण्टा प्रशिक्षण दिइने र जम्मा १०० घण्टा तालिम सञ्चालन गरिने जनाइएको छ। तालिममा सहभागीका लागि न्यूनतम उमेर १८ वर्ष र अधिकतम ५८ वर्ष तोकिएको छ।
कामपाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने व्यक्ति, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति तथा सडक किनारमा व्यापार व्यवसाय गर्दै आएका व्यक्तिहरूलाई प्राथमिकतामा राखिने कामपाले जनाएको छ।
महानगरले सरकारी, गैरसरकारी, निजी क्षेत्र तथा दातृ निकायहरूसँग सहकार्यमा तालिम सञ्चालनको तयारी गरेको छ।
सीप मेलामा निम्न क्षेत्रका तालिम समावेश गरिएका छन्:
आईसीटी (सूचना प्रविधि): डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अप्टिक्स टेक्निसियन, कृत्रिम बुद्धिमत्ता (एआई) र यसको प्रयोग सम्बन्धी तालिम।
स्पेशल एबिलिटी सपोर्ट स्किल: हाउस किपिङ (पीडब्लुडी) र केयर सर्भिस।
इलेक्ट्रिक्स: ल्यापटप, एसी/रेफ्रिजेरेटर, सिसिटिभी, मोबाइल रिपेयरिङ।
गार्मेन्ट: गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइन।
कन्स्ट्रक्सन: इलेक्ट्रिसियन, प्लम्बिङ, मेसन, वेल्डिङ, कार्पेन्ट्री।
हस्पिटालिटी: बारिस्ता, वेटर, फास्ट फुड, बेकरी।
अटोमोबाइल्स: इलेक्ट्रिक भेहिकल मर्मत, हलुका सवारी मर्मत, इन्धन/इलेक्ट्रिक मोटरसाइकल मर्मत।
आर्ट एण्ड स्कल्प्चर: थाङ्का र सिरेमिक्स (टेराकोटा)।
कृषि: फूल सजावट।
सौन्दर्य तथा वित्त: सौन्दर्यकर्मी, मेकअप, हेयर डिजाइन, नेल टेक्निसियन, कपाल काट्ने, स्टक मार्केट तालिम।
संस्कृति र धर्म: ज्योतिष तथा पुरोहित तालिम।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे