
काठमाडौं। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले अनावश्यक प्रशासनिक खर्च घटाएर विकास निर्माणतर्फ बढी ध्यान दिएको बताएका छन्। काठमाडौँ महानगरपालिकाको ३१औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नागरिकबाट उठाइएको कर नागरिककै हितमा प्रयोग भइरहेको स्पष्ट गरे।
प्रमुख शाहका अनुसार धुलोरहित सडक अभियानअन्तर्गत हालसम्म ५५ किलोमिटर सडक सुधार गरिएको छ। सहरका ६२ स्थानमा हाइमास्ट बत्ती जडान गरिएको छ भने ५ हजारभन्दा बढी पोलमा १३ हजारभन्दा धेरै बत्ती राखेर रातिको सहरलाई उज्यालो बनाइएको छ। गत आर्थिक वर्षमा करिब २ अर्ब ८६ करोड रुपैयाँ बराबरका विकास योजना सम्पन्न भएका छन्।
सम्पदा संरक्षणतर्फ पनि महानगरले उल्लेखनीय काम गरेको उनले बताए। करिब ९१ करोड रुपैयाँ खर्चेर मूर्त र अमूर्त सम्पदासम्बन्धी सयौँ कार्यक्रम सञ्चालन गरिएको छ। साथै, महानगरले हालसम्म २३ अर्ब मूल्य बराबरको सार्वजनिक जग्गा फिर्ता गरिसकेको र आगामी दिनमा अझ धेरै जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य लिएको उनले जानकारी दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे