
काठमाडौं, असार ३ । काठमाडौं महानगरपालिकाले वर्षायामलाई मध्यनजर गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म सार्वजनिक सडक तथा फुटपाथ खन्ने कार्यमा रोक लगाएको छ। महानगरको सार्वजनिक निर्माण विभागले मङ्गलबार सूचना जारी गर्दै २०८२ साल असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि निकायलाई सडक वा फुटपाथ खन्ने स्वीकृति वा सहमति नदिइने स्पष्ट पारेको हो।
महानगरले वर्षा याममा सडक खन्दा सर्वसाधारणले भोग्नुपर्ने हिलो, फोहोर, दुर्घटना जोखिम र जनजीवनमा पर्न सक्ने असहज परिस्थितिलाई मध्यनजर गर्दै यो निर्णय गरेको जनाएको छ।
सूचनामा भनिएको छ –‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र मिति २०८२ असार १ गतेदेखि भदौ मसान्तसम्म सार्वजनिक सडक र फुटपाथ खन्न स्वीकृति र सहमति दिने कार्य रोकिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’
महानगरले सबै निर्माण कम्पनी, सेवा प्रदायक संस्था (जस्तै खानेपानी, बिजुली, इन्टरनेट) तथा अन्य सरोकारवाला निकायलाई समयमै सचेत रहन अनुरोध गरेको छ। यो निर्णयले राजधानीको ट्राफिक व्यवस्थापन, सरसफाइ तथा जनसुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे