
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबारका लागि तोकिएका सबै प्रकारका र्याली, सभा तथा प्रदर्शनमा प्रतिबन्ध लगाएको छ। हालै देखिएका घटनाहरूले शान्ति सुरक्षामा चुनौती थपेपछि प्रशासनले यस्तो कदम चालिएको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी (सिडिओ) ईश्वरराज पौडेलले शुक्रबार सूचना जारी गर्दै काठमाडौं उपत्यकामा हुने भनिएका कुनै पनि र्याली, जुलुस, धर्ना वा प्रदर्शनका कार्यक्रमलाई स्वीकृति नदिने निर्णय गरिएको जानकारी दिएका छन्। उनले सुरक्षा संवेदनशीलता उच्च रहेको भन्दै आम नागरिकलाई सुरक्षा प्रत्याभूति दिने उद्देश्यले यस्तो निर्णय गर्नुपरेको स्पष्ट पारे।
प्रशासनले जारी गरेको सूचनामा गत भदौ २३ गतेको जेनजी आन्दोलन र त्यसपश्चात भएका तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुगेका घटनाले शान्ति सुरक्षामा गम्भीर चुनौती थपेको उल्लेख छ। यसै सन्दर्भमा, विभिन्न समूहले शनिबार मोटरसाइकल र्याली तथा सभा गर्ने तयारी गरेको सूचनासमेत प्रशासनलाई प्राप्त भएको बताइएको छ।
सूचनामा भनिएको छ, ‘‘यस कार्यालयबाट त्यस्तो प्रकृतिका कुनै पनि र्याली, प्रदर्शन, जुलुस वा सभा गर्न कोही कसैलाई स्वीकृति प्रदान नगर्ने निर्णय गरिएको छ।’’
यद्यपि प्रशासनले कुनै दल वा समूहको नाम तोकेको छैन, तर एमालेसहितका विभिन्न राजनीतिक दल तथा समूहहरूले शनिबार प्रदर्शन गर्ने तयारी गरेको जनाइएको छ। यस निर्णयसँगै एमालेले घोषणा गरेको कार्यक्रम समेत प्रभावित भएको छ।
स्थानीय प्रशासन ऐन, २०२८ र प्रहरी ऐन, २०१२ का प्रावधानअनुसार पूर्वस्वीकृतिविना कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न तथा नगराउन प्रशासनले सबैलाई आग्रह गरेको छ। प्रशासनले सुरक्षामा संवेदनशीलता देखिएको भन्दै नागरिकलाई संयमित रहन समेत अपिल गरेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे