
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका १० वडाभित्रका ५०९ वटा स्थानका प्राचीन र मौलिक नाम एकिन भएको छ। सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा अघि बढाएको दुई चरणको अध्ययनबाट ४३० वटा मूल नाम र ७९ वटा सहायक नाम पत्ता लगाइएको थियो। अब तेस्रो चरणमा वडा नं. १२, १३, १५, २१, २२, २३, २७ र २८ का वस्ती तथा स्थानको अध्ययन गरिने भएको छ।
कार्यवाहक प्रमुख सुनिता डंगोलले नाम केवल सम्बोधनका लागि नभई इतिहास, संस्कृति र समाजसँग प्रत्यक्ष सम्बन्धित भएको बताउँदै परिचय पाटी सावधानीपूर्वक र दृश्य प्रदूषण नहुने गरी राख्न निर्देशन दिनुभएको छ। प्राचीन नाम लेख्दा एउटै शव्दको प्रयोग गर्नुपर्ने, स्थानीय समुदाय र इतिहासविद्हरूसँग पुष्टि गरिनुपर्ने कुरा पनि जोडिएको छ।
पहिलो र दोस्रो चरणमा वडा नं. ५, ६, ७, १८, २४ र वडा नं. ८, १७, १९, २०, २५ मा अध्ययन सम्पन्न भइसकेको छ। अध्ययनले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, वहाल, धारा, पाटी आदि स्थानका प्राचीन नाम पहिचान गरेको छ।
उदाहरणका लागि, वडा नं. ५ हाँडीगाउँको प्राचीन नाम ‘नरः’, वडा नं. ६ बौद्धको ‘खस्योरः/खास्ती’, वडा नं. ७ चाबहिलको ‘चावहीः’, वडा नं. १८ नरदेवीको ‘ङेतः’, वडा नं. २४ मखनको ‘मखं’ रहेका छन्। दोस्रो चरणमा जयबागेश्वरी, धोवीचौर, दमाइटोल, क्षेत्र भीमसेन, मासंगल्ली आदि वडाका मौलिक नाम पत्ता लागेको छ।
यस पहलले काठमाडौँ महानगरको प्राचीन सभ्यता र सांस्कृतिक पहिचानको संरक्षणमा ठोस योगदान पुर्याउने छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे