
काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो कार्यकारी प्रमुखका रूपमा कपिलकुमार दाहाललाई कार्यवाहक नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको असोज १० गते बसेको बैठकले सो निर्णय गरेको हो।
दाहाल यसअघि सोही कम्पनीमा उप–कार्यकारी प्रमुखको रूपमा कार्यरत थिए। उनी चार्टर्ड एकाउन्टेन्ट हुन् र बीमा तथा वित्त क्षेत्रको करिब १५ वर्षको अनुभव बोकेका अनुभवी प्रशासक हुन्।
यस नियुक्तिको पृष्ठभूमिमा भने कम्पनीभित्र उत्पन्न विवाद र एजेन्ट आन्दोलन रहेको देखिन्छ। पूर्व कार्यकारी प्रमुख मनोजकुमार लाल कर्णले राजीनामा दिएपछि नेतृत्व खाली भएको थियो। एजेन्टहरूले न्यूनतम बोनस दर कायम गर्नुपर्ने माग राख्दै आन्दोलन चर्काएका थिए, जसले कम्पनीको आन्तरिक वातावरणमा अस्थिरता निम्त्याएको थियो।
सञ्चालक समितिले तत्काल नेतृत्व स्थायित्व कायम गर्न र कम्पनी सञ्चालनमा निरन्तरता दिन कार्यवाहक कार्यकारी प्रमुख को रूपमा दाहाललाई जिम्मेवारी सुम्पिएको हो। कम्पनीले अब आन्तरिक संरचना सुदृढीकरण, एजेन्टहरूको असन्तुष्टि समाधान र ग्राहक सन्तुष्टि पुनर्स्थापना गर्नुपर्ने चुनौती सामना गर्नुपर्नेछ।
दाहालको नेतृत्वमा कम्पनीले वित्तीय स्थायित्व, ब्रान्ड प्रतिष्ठा र बजारमा आफ्नो विश्वसनीयता पुनःनिर्माणमा ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ। स्थायी कार्यकारी प्रमुख नियुक्त नहुँदासम्म दाहालले कम्पनीको नीतिगत तथा प्रशासनिक काम सम्हाल्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे