
काठमाडौं, १ असोज – केन्द्रीय मानन्धर संघले काठमाडौंको बसन्तपुरमा बृहत् धाः बाजा प्रदर्शनी सम्पन्न गरेको छ। मौलिक बाजा संरक्षण र प्रवद्र्धनका लागि संघले काठमाडौं महानगरपालिकासँग सहकार्य गर्दै युवा पुस्तामार्फत यो प्रदर्शनी आयोजना गर्दै आएको छ। यस वर्षको प्रदर्शनी मरु गणेशस्थानको पछाडि रहेको माजु देगःको खुड्किलामा सम्पन्न भएको हो। यहाँ सयौं कलाकारहरुले एकैपटक, एउटै चालमा धाः बाजा बजाएका थिए।
कार्यक्रममा काठमाडौंका ८ वटा मानन्धर टोलहरूको सहभागिता रहेको थियो। कार्यक्रम संयोजक सन्देश मानन्धरका अनुसार, लाय्कूसाः मानन्धर समाज, भिंद्यः गुठि कालिमाटी, चस्वांद्व मानन्धर सनाःगू खलः, थँहिटी मानन्धर गुठि, दैसाः टोल मानन्धर समाज, न्यागःमणि फेदी मानन्धर संघ, मानन्धर सनाःगू खलः न्हूसाः, र पाक्व पुखूद्यां सनाः खलःबाट आठजनाका प्रतिनिधिहरूले प्रदर्शनीमा सहभागिता जनाएका थिए। साथै, १५ जना व्यावसायिक म्यूजिकल अर्केस्ट्राका कलाकारहरूले पनि कार्यक्रमलाई साथ दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाकी डेपुटी मेयर सुनिता डंगोलले मानन्धर समाजले बाजा संरक्षणमा पुर्याएको योगदानको प्रशंसा गरिन्। उनले सामाजिक र सांस्कृतिक परम्परालाई निरन्तरता दिने उद्देश्यले खलः, पुचः र गुठीलाई बजेट विनियोजन गर्न नसकिएको स्वीकार गरिन्।
डेपुटी मेयर डंगोलले मेयर बालेन शाहप्रति इङ्गित गर्दै महानगरको बजेटमा विभिन्न संघसंस्थाको अधिकार विमुख भएको आरोप लगाइन्। आव २०८१–८२ को बजेटमा केन्द्रीय मानन्धर संघ, उदाय समाज, बज्राचार्य समाज, सिस्य समाज लगायतका थुप्रै सामुदायिक संस्थाको कार्यक्रम शिर्षक कटौती भएको जनाइन्।
कार्यक्रम चस्वांद्व मानन्धर सनाःगू खलःका सचिव उत्तम मानन्धरले सञ्चालन गरेका थिए। यस अवसरमा काठमाडौं महानगरपालिकाकी डेपुटी मेयर सुनिता डंगोल, प्रवक्ता नवीन मानन्धर, जनसेवा प्रहरी प्रमुख, विभिन्न बाजा खलःका गुरुहरू र हजारौं दर्शकहरूको सहभागिता रहेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे