
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना कर्मचारीहरूलाई स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले स्तन क्यान्सर आत्ममूल्यांकन तालिम आयोजना गरेको छ। उक्त तालिम वरिष्ठ सर्जन डा. सुजिता हिराचनले प्रदान गरिन्।
तालिमको क्रममा स्तन क्यान्सरको प्रारम्भिक मूल्यांकन, लक्षण पहिचान, आत्मपरीक्षणको महत्व र उपचार प्रक्रियासम्बन्धी महत्वपूर्ण जानकारी दिइएको थियो। डा. हिराचनले क्यान्सरका प्रारम्भिक लक्षणहरूको बारेमा चर्चा गर्दै, समयमै परीक्षण र उपचार गरिएमा स्तन क्यान्सरको उपचार सफलता प्राप्त गर्न सकिने कुरा स्पष्ट पार्नुभयो। उहाँले यस रोग केवल महिलामा मात्र नभई पुरुषमा पनि देखिन सक्ने तथ्य पनि साझा गर्नुभयो।
तालिममा बैंकका क्यान्सर विजेता कर्मचारीहरूले आफ्ना अनुभवहरू शेयर गर्दै, हरेक ५–६ महिनामा स्तन क्यान्सरको नियमित परीक्षण गराउन प्रेरित गरे। उनीहरूले आफ्नो परिवार र आफन्तहरूको माया र उच्च मनोबलले रोगलाई जित्न उत्प्रेरित गरेको पनि बताए।
कामना सेवा विकास बैंकले यस्ता स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू निरन्तर गर्ने जनाएको छ, जसले केवल कर्मचारीहरूमा मात्र नभई सम्पूर्ण समाजमा क्यान्सरसम्बन्धी सचेतना फैलाउन र यस विषयमा सकारात्मक सोचको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बैंकको विश्वास छ।
डा. सुजिता हिराचन एक अनुभवी कन्सल्टेन्ट ब्रेस्ट अंकोसर्जन हुनुहुन्छ र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, प्रिमेरा अस्पताल र नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसनसँग आबद्ध हुनुहुन्छ। उहाँको ब्रेस्ट र थाइराइड अंकोसर्जरीमा १४ वर्षभन्दा बढीको अनुभव छ र यस क्षेत्रका बिरामीहरूको जीवनदर सुधारमा महत्वपूर्ण योगदान पुर्याउनुभएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे