
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १९औं वार्षिकोत्सव विभिन्न सामाजिक तथा वित्तीय कार्यक्रमहरू आयोजना गरी मनाएको छ। कार्तिक २७ गते बिहीबार बैंकले देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
बैंकका केन्द्रीय कार्यालय तथा सबै क्षेत्रीय कार्यालयहरूमा आयोजित रक्तदान अभियानबाट ४२९ पिन्ट रगत संकलन गरिएको बैंकले जनाएको छ। बुटवल क्षेत्रमा सञ्चालक भीम प्रसाद तुलाचनले कार्यक्रमको उद्घाटन गर्नुभयो भने, केन्द्रीय कार्यालयमा नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटल, रक्तसंचार केन्द्रकी भावना पाण्डेलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गर्नुभयो।
रक्तदान कार्यक्रम कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको बर्दिबास, नारायणगढ, पोखरा, बुटवल र नेपालगञ्ज शाखामा सम्पन्न भएको थियो। ती कार्यक्रममा क्षेत्रीय प्रमुख, स्थानीय समाजसेवी, रक्तदाता तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
वार्षिकोत्सवकै अवसरमा बैंकले पाँचौं अन्तर बैंक तथा वित्तीय संस्था स्तरिय फुटसल कप पनि आयोजना गरेको थियो। उक्त प्रतियोगितामा पुरुषतर्फ सिद्धार्थ बैंक र महिलातर्फ लुम्बिनी विकास बैंक विजयी बनेका छन्।
त्यसैगरी, बैंकको अमरसिंह शाखाले अमरसिंह उच्च मावि र पोखरा न्युरोड शाखाले पार्दी माविमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेका छन्।
बैंकले वार्षिकोत्सवकै अवसरमा नयाँ बालबालिका लक्षित निक्षेप योजना “अल्फा ग्रो” सार्वजनिक गरेको छ। १८ वर्षसम्मका बालबालिकालाई लक्षित यो खाताअन्तर्गत ग्राहकलाई आकर्षक खुत्रुके प्रदान गरिनेछ र खातावालाको रु. ५० हजारसम्मको जीवन बीमा बैंकले नै व्यवस्था गर्नेछ। उक्त बीमाको प्रिमियम बालबालिका १८ वर्ष नपुग्दासम्म बैंकले नै तिर्ने जनाएको छ।
बैंकका अनुसार “अल्फा ग्रो” खाताको उद्देश्य बालबालिकामा बचतको बानी विकास गर्दै अभिभावकहरूलाई भविष्यमुखी वित्तीय सुरक्षा प्रदान गर्नु हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे